काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक-पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरू कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन ।
उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेशप्रसाद खतिवडाले आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन थप चर्कोउने चेतावनी दिनुभयो ।
निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गर्न गरेर आफूहरूलाई घर फर्काउनुपर्ने उहाँको माग छ । उहाँले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न समेत माग गर्नुभयो ।
आफ्ना मागहरू पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने उहाँको चेतावनी छ ।