कपिलवस्तु । आज विश्व बाघ दिवस । सय वर्षयता विश्वमै बाघको ९३ प्रतिशत वासस्थान र ९७ प्रतिशत संख्या घटेका बेला नेपालमा भने संख्या बढेको छ । पछिल्लो १२ वर्षमा मात्रै नेपालमा बाघको संख्या झन्डै तेब्बर भएको हो । यसरी बाघ बढ्दा विश्वजगत्मा नेपालको उच्च प्रशंसा भएको छ । तर मानव-बाघ द्वन्द्व बढ्दा त्यसले चिन्ता थपेको छ ।
पछिल्लो ७ वर्षमा मात्र बाघको आक्रमणबाट ७५ जनाले ज्यान गुमाइसकेका छन् । अब मानिस र बाघ मिलेर बस्ने वातावरण बनाउन चुनौती छ ।
नेपालमा सन् २०१० मा १२१ बाघ रहेकामा सन् २०२२ मा ३५५ पुगेका छन् । सबैभन्दा धेरै १२८ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन् । त्यस्तै बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् । वासस्थान संरक्षण, आहार प्रजातिको वन्जयन्तुको वृद्धि, चोरी शिकारी नियन्त्रण, राष्ट्रिय निकुञ्जको विस्तार लगायतका कारण बाघ बढेका हुन् । बाघको संख्या वृद्धिले अवसरसँगै चुनौती थपिएको छ ।
सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले बाघको संख्या एक दशकमा दोब्बर बनाउने संकल्प गरेको थियो । ती मुलुकमध्ये बाघको संख्या बढाउन सफल हुनेमा नेपाल पहिलो मुलुक बनेको थियो । अन्तर्राष्ट्रिय समुदाय माझ नेपालले बाघको संख्या बढाएर प्रशंसा पाए पनि निकुञ्ज आसपासका बासिन्दामा बाघको आक्रमणले त्रसित छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा १५० वटा बाघ भए पुग्ने बताइरहँदा विज्ञले पाँच सयसम्म बाघ पाल्न सकिने क्षमता रहेको बताएका छन् । बाघको संख्या बढेसँगै व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वासस्थान सुधार चुनौती बनेको छ ।
बाघ पाइने स्थानको पारिस्थितिकीय प्रणाली राम्रो र स्वस्थ्य छ भन्ने बुझिन्छ । बाघ शान्तिप्रिय, बलिष्ट, भद्र र लजालु हुन्छ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएकाले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा उल्लेखनीय योगदान गर्छ । नेपाल जस्तो सानो मुलुकमा बाघको संख्या बढ्दा विश्वभरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । अब मानिस र बाघ आपसमा मिलेर बस्न सक्ने वातावरण बनाउन सके विश्वकै लागि उदाहरणीय हुन सक्छ ।