काठमाडौं । इंग्लिस महिला फुटबल टिमकी प्रशिक्षक सरिना विग्मनको कथा साहस, इमानदारिता र दृढताले भरिएको छ। एउटा मुख्य प्रतियोगिताको फाइनलमा पुग्नु नै ठूलो कुरा हो। सरिनाले आफ्नो टोलीलाई लगातार पाँचवटा मुख्य प्रतियोगिताको फाइनलमा पुर्याएकी छन्। खेलको गतिलाई परिवर्तन गर्न सक्ने, रणनीतिक फेरबदलमा अब्बल अनि पुनरागमनकी नमुना हुन विग्मन।
यी डच प्रशिक्षकले इंग्लिस महिला फुटबलमा दिएको योगदान र उनको मैदानको यात्रा कस्तो रहृयो त ?
५५ वर्षीया डच प्रशिक्षक सरिना विग्मनले फेरि इतिहास बनाइन्। ५९ वर्षपछि विदेशी भूमिमा इंग्ल्यान्डका लागि उपाधि दिलाइन्।
सन् २०२२ मा लन्डनमा भएको महिला युरोपमा घरेलु टिमलाई च्याम्पियन बनाएकी उनले इंग्ल्यान्डलाई दुई वर्षअघि फिफा महिला विश्वकपको उपविजेता बनाएकी थिइन्। गत आइतबार स्वीट्जरल्यान्डमा उनले प्रशिक्षकका रुपमा युरो कपमा हृयाटि्रक गरिन्। यससागै विग्मन सबै खेलकुद प्रेमीको मनमा छिन्।
नेदरल्यान्ड्सको हेगमा जन्मेकी विग्मन पुरुषको जस्तै कपाल काटेर फुटबल खेल्न पुरुष टोलीमा सहभागी बन्थिन् । खेलाडी रहँदा उनी विद्यालयमा शारीरिक शिक्षा पढाउँथिन्। पछि देशको कप्तान बनिन्। ९९ अन्तर्राष्ट्रिय खेल खेलेपछि २००३ मा दोस्रो सन्तान गर्भमा आएसँगै उनले संन्यास लिइन्। मैदानको टेक्निकल क्षेत्रमा उनी जहिल्यै शान्त देखिन्छिन्। यो स्वभावले टोलीलाई कठिन क्षणमा पनि सही निर्णय लिन सहयोग गर्छ। उनको यही खुबीले नै नेदरल्यान्ड्सको फुटबल संघले महिला टिम सम्हाल्ने जिम्मेवारी दियो। नभन्दै विग्मनले २०१७ मा नेदरल्याण्ड्सलाई युरो च्याम्पियन बनाइन्। सन् २०१९ विश्वकपमा पनि नेदरल्यान्ड्स उपविजेता बन्यो।
त्यसपछि, सन् २०२१ मा इंग्ल्यान्डले उनलाई महिला टोलीको जिम्मेवारी सुम्पियो। प्रशिक्षण सुरु गरेको १० महिनामै उनको टोलीले २०२२ को युरो जित्यो।
त्यसपछि त उनी विश्व फुटबलकै अब्बल प्रशिक्षकको रूपमा सबैसामु परिचित भइन्।
ड्रेसिङ रुममा उनका प्रेरणादायी भाषण नै इंग्ल्यान्डको सफलतामा मुख्य हतियार हुन्। खेलाडीले भन्ने गरेका छन्-उनले खेलअघि बोलेका शब्द सधैं भिडन्तको हरेक पल सम्झाइरहन्छन्। गत आइतबार राति सकिएको युरोबाट उनको 'फिनिसर्स' रणनीति चर्चामा आएको छ। सबिस्टच्यु खेलाडीबाट खेल परिवर्तन गराएर नतिजा लिने उनको नविनतम शैली हो। इटालीविरुद्धको रोमाञ्चक जितमा १९ वर्षीय मिशेल अग्येमाङलाई मैदानमा उतार्ने उनको साहसले टोलीलाई थप ऊर्जा दिएको थियो । विग्मन खेलाडीहरूसँग स्पष्ट कुरा गर्छिन्, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक। उनले धेरैपटक कडा निर्णय लिनुपरेको छ, जसको उदाहरण पूर्वकप्तान स्टेफ हटनलाई टोलीबाट बाहिर राख्नु हो। यद्यपि अधिकांश खेलाडीले उनको स्पष्ट र पारदर्शी शैलीको सम्मान गर्ने गरेका छन्।
सरिना विग्मन केवल प्रशिक्षक मात्र होइनन्, उनी टोलीका लागि आमाजस्तै अभिभावक र प्रेरणादायी नेतृ हुन्। पाँचवटा लगातार फाइनलमा पुग्ने र तीन उपाधिमाथि कब्जा जमाउने क्षमता उनको इमानदारीता र अटुट दृढताको प्रमाण हो ।