मधुश्रावणी पर्वको अनुष्ठानमा मिथिलाका नवविवाहित महिला, दाम्पत्य जीवन आत्मीय बन्ने विश्वास

श्रावण ७, २०८२ |अमरकान्त ठाकुर
मधुश्रावणी पर्वको अनुष्ठानमा मिथिलाका नवविवाहित महिला, दाम्पत्य जीवन आत्मीय बन्ने विश्वास

जनकपुरधाम । मिथिलाका नवविवाहित महिला यतिखेर मधुश्रावणी पर्वको अनुष्ठानमा जुटेका छन् । दाम्पत्य जीवन आत्मीय बन्ने विश्वाससहित नवविवाहित महिलाले यो पर्व मनाउँछन् ।

जनकपुरधामको कटैयाचौरीकी माधवी झाको विवाह गत जेठमा महोत्तरीको जलेश्वर बस्ने राजन झासँग भयो । भारतको अम्बाला बसेर इन्जिनियरिङ्ग पूरा गरेकी माधवी आधुनिक जीवन बिताए पनि मैथिली परम्परा, कला र संस्कृति संस्कारलाई सम्मान गर्दै निष्ठापूर्वक मधु श्रावणी उत्सवमा सरिक हुनुभएको छ ।

विद्या झाले पनि मधुश्रावणी पर्व मनाउन यतिखेर आफ्नै गाउँठाउँमा आइपुग्नुभएको छ । काठमाडौं विश्वविद्यालय धुलिखेलबाट बीएमएस उत्तीर्ण विद्याको विवाह पनि जेठमा धनुषा कुम्हरौरा बस्ने रविन्द्र झासँग भएको थियो । उहाँ पनि निष्ठापूर्वक मधुश्रावणी पर्व मनाउन माइत आइपुग्नुभएको छ ।

सुखद् दाम्पत्य जीवनको कामना गर्दै मिथिला नगरी जनकपुरधाम र आसपास क्षेत्रका नव विवाहित नारी यति बेला मधुश्रावणी पर्वमा रमेका छन् । साउन कृष्ण पञ्चमीदेखि शुक्ल पक्षको तृतियासम्म मधुश्रावणी पर्व मनाउने गरिन्छ ।

मधुश्रावनी पर्वलाई अझै लोकप्रिय बनाउन सखिबहिनपा मिथिलानी समूहले जानकी मन्दिरमा केहि वर्षदेखि नवविवाहित महिलालाई समूहगतरूपमा सम्मान गर्दै आएको छ ।

मधुश्रावणी पर्वले विवाहपछि दाम्पत्य जीवनलाई कसरी सुखमय बनाउन तथा विपद् आइलागे सामना गर्न प्रेरणा दिने विश्वास गरिन्छ । यो पर्वमा हरेक दिन पूजा सकिएपछि मंगला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन र गौरी-शंकर विवाहसँग जोडिएका धार्मिक कथा वाचन र श्रवण गरिन्छ ।

कान्तिपुर समाचारका लागि  जनकपुरधाम, धनुषा ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।