भूमिमन्त्रीद्वारा तीन निकायसँग कार्यसम्पादन सम्झौता

भाद्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमिमन्त्रीद्वारा तीन निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालयअन्तर्गतका तीन वटा निकायसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमि समस्या समाधान आयोग अध्यक्ष हरिप्रसाद रिजाल, राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष डा. बगराज शर्मा र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्ष श्रीमणकुमार गौतमसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । 

कार्यसम्पादन सम्झौतामा क्रममा मन्त्री अधिकारीले सम्झौता गर्नु नै ठूलो नभएकोले यसलाई कार्यन्वयनमा ल्याएर परिणाममुखी बनाउन आग्रह गर्नुभयो । उहाँले विगतमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनु भयो । 

भूमि समस्या समाधान आयोग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले भर्खरै काम सुरू गर्न लागेकाले यसले पनि आफूलाई सुधार गरेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भुमि मन्त्रालयले राम्रो काम गर्‍यो भनेर सन्देश दिनेगरी काम गर्न पनि निर्देशन दिनुभयो । 

भुमिमन्त्री अधिकारीसँग समाधान आयोगका अध्यक्ष रिजालले १२ बुँदे, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षका शर्माले १० बुँदे र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष गौतमले १६ बुँदे कार्यसम्पादन सम्झौता गर्नुभएको छ । 

यसअघि भूमिमन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.