राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

भाद्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

मनोनयनको लागि मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको छ । 

संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर उहाँले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको छ । 

न्यौपानेको मात्र उम्मेदवारी परेकोले उहाँ समितिको सभापतिमा निर्विरोध चयन हुनुभएको छ । बुधबार बस्ने राज्य व्यवस्था तथा सुशासनको बैठकमा उहाँ सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । 

यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडा पदबाट राजीनामा दिनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.