रसुवागढी बाढीमा हराइरहेका १९ जनाको खोजीकार्य बिहानैदेखि जारी

मृतक ८ जनाको शव शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो
असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रसुवागढी बाढीमा हराइरहेका १९ जनाको खोजीकार्य बिहानैदेखि जारी

रसुवा । चीनबाट आएको बाढीका कारण नेपाल चीन सीमा क्षेत्र रसुवागढीमा हराइरहेकाहरुको खोजी आज पनि जारी छ । अहिलेसम्म ९ जनाको शव भेटिएको छ भने हराइरहेका १९ जनाको बिहानैदेखि खोजी सुरु भएको छ । 

प्रहरीका अनुसार बेपत्ता हुनेमा दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् । बाढीमा फसेका ५७ जनाको भने मंगलबारै उद्धार भएको छ ।

यसैबीच, रसुवामा भीषण बाढीमा परेर मृत्यु भएका नौ मध्ये आठ जनाको शव काठमाडौं ल्याइएको छ । सबै शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना बाहेक कुनै पनि शवको सनाखत हुन सकेको छैन । एक जनाको भने सनाखत भएसँगै हिजै अन्त्येष्टि गरिएको छ। बाढीमा परेर रसुवाबाट बेपत्ता एक जना प्रहरी प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । श्रेष्ठको परिवारले शव बुझेर हिजै अत्येष्टि गरिएको छ ।

भेटिएका शवमध्ये पाँच शवमात्रै सनाखत गर्न सकिने अवस्थामा रहेको छ । चार वटा मानव अंगहरूमात्रै फेला परेको छ । ती शवको डिएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ । बाढीमा अझै दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । बाढीको कटानका कारण स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १४ किलोमिटर सडक ठाउँ-ठाउँमा अवरुद्ध भएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.