खोटाङ । स्थापना भएदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको ऐसेलुखर्क गाउँपालिकाले अबदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा दिन थालेको छ। शुक्रबार एक औपचारिक समारोहका बीच गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले भवन उद्घाटन गर्दै सेवा प्रवाहको शुभारम्भ गर्नुभएको हो।
गाउँपालिकाले विगतमा वार्षिक करकट्टीसहित चार लाख ६८ हजार रूपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो। अब आफ्नै भवनबाट सेवा सुरू भएपछि नागरिकलाई सेवा लिन सहज हुनुका साथै कार्यालयको आर्थिक भार समेत कम भएको गाउँपालिकाले जनाएको छ।
प्रशासनिक भवन निर्माणका लागि २०८१ साल वैशाख मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। यद्यपि, एक वर्षको ढिलाइमा दुई करोड ३० लाख रूपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको लेखा शाखा प्रमुख पंकज आचार्यले जानकारी दिनुभयो।
पाँच वर्ष दुई महिनाको अवधिपछि सम्पन्न भएको १४ कोठे दुईतले भवनको अन्तिम तलामा फलामे ट्रससहित जस्तापाताको छाना राखिएको छ। भवन हस्तान्तरणसँगै सेवा सञ्चालन सुरू गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख राईले ढिलाइ भए पनि अब आफ्नै भवनबाट सेवा प्रवाह सुरू हुनुले जनतालाई गुणस्तरीय सेवा दिने अवसर मिलेको र कार्यालयको सञ्चालन खर्च समेत घटेको बताउनुभयो।