काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जना विरूद्ध उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा केन्द्रका लागि ‘हाई कम्प्युट इन्फास्ट्रक्चर’ सम्बन्धी उपकरण खरिद गर्दा करिब १६ करोड रूपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौडेलसहित केन्द्रका ५ कर्मचारी, एकजना ठेकेदारविरूद्ध १५ करोड ८८ लाख रूपैयाँ बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन कार्यकारी निर्देशक पौडेलविरूद्ध १५ करोड ८८ लाख ५० हजार रूपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी लिएको छ ।
यसैगरी केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरूद्ध एकमुष्ट बिगो कायम गरी बिगोबमोजिम कैद र जरिवानाको मागदाबी लिइएको छ ।
यस्तै ठेक्केदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ र उनी सञ्चालक रहेको कम्पनीविरूद्ध पनि मुख्य कसुरदार सरह नै कैद र जरिवानाको मागदाबी लिइएको छ ।