काठमाडौं । ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको लेदोसहितको बाढीका कारण स्याफ्रुबेंसी-रसुवागढी सडक अहिले पूर्णरूपमा अवरुद्ध छ ।
बाढीले सडक मात्र होइन, नेपाल-चीन सीमामा रहेको मितेरी पुल पनि बगाएको छ । जस कारण रसुवागढी नाकाबाट हुँदै आएको चीनसँगको व्यापार अहिले ठप्प छ । अन्तरदेशीय व्यापारको महत्त्वपूर्ण कडी मितेरी पुलसहित सडक संरचना अब कहिले पुनःनिर्माण हुन्छ ? धेरैको चासो छ ।
२०७२ सालमा आएको भूकम्पले नेपाल चीन सीमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नाका ध्वस्त पार्यो । त्यसपछि त्यो नाका खुल्नै सकेन । बल्ल बल्ल अहिले अलिअलि चल्न थालेको छ । अहिले फेरि रसुवागढी नाकामा रहेको मितेरी पुल बाढीले बगाएपछि अन्योल सुरू भएको छ, त्यहाँ पुल कहिले बन्छ ? नाका पहिले जस्तै सहज कहिले हुन्छ ?
रसुवाको स्याफ्रुबेंसीदेखि टिमुरे हुँदै रसुवागढी जोड्ने १६ किलोमिटर सडक सन् २०१९ मै चिनियाँ अनुदानमा कालोपत्रे गर्ने सहमति भएको थियो । तर, कोभिड-१९ महामारीले काम अघि बढ्नै सकेन । पछि चिनियाँ पक्षले चासो दिन छोडेपछि नेपालले लगातार घच्घचायो । परिणामतः चिनियाँ पक्ष सडकको कालोपत्रे गर्न तयार भयो ।
पछिल्लो समय चिनियाँ ठेकेदारले स्याफ्रुबेंसीदेखि टिमुरे हुँदै रसुवागढीसम्म कालोपत्रे गर्न क्याम्प बनाउन पनि थालेको थियो । तर यहीबीचमा मंगलबार भीषण बाढी आयो । १५ स्थानमा ११ सय मिटर सडक पूर्णरूपमा बगायो ।
मैलुङ-स्याफ्रुबेंसी १९ किलोमिटर सडक भने सरकारले २०८० माघमा ठेक्का तोडेपछि नयाँ ठेक्का लगाउन सकेको छैन । नेपाली सेनाले ट्र्याक खोलेको यो खण्डलाई
दायाँ बायाँ टेवा पर्खालसहित दुई लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्न २०७७ साउन १ गते भारत कन्स्ट्रक्सन-सिद्धिले साढे दुई वर्षभित्र सक्ने लक्ष्यसहित ठेक्का पाएको थियो ।
यता धादिङको गल्छी हुँदै रसुवाको मैलुङसम्मको ४६ किलोमिटर सडकमध्ये नुवाकोटको मुख्य बजार क्षेत्र गङ्गटे, बट्टार, विदुर र ढुङ्गेसम्मको ८ किलोमिटर सडक भने मुआब्जा विवादले काम सुरू भएको छैन ।
बाँकी ३८ किलोमिटर सडक बनिसकेको छ । यी सबै सडकको स्थलगत अनुगमन गर्न सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यलयको टोली अहिले रसुवा पुगेको छ । टोलीले एक हप्ताभित्र रसुवागढीसम्मको सडक सञ्चालन गर्ने बताएको छ ।
पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट-त्रिशूली-रसुवाको मैलुङ-स्याफ्रुबेंसी-टिमुरे-रसुवागढी हुँदै चीनको केरूङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमी सडक राष्ट्रिय गौरवको आयोजनामा पर्छ । तर, सरकारको लगानी र चासो भने सडक बनाउनतर्फ छैन ।
तर सडक जेनतेन रसुवागढी पुगेपनि पुल कहिले बन्छ र नाका सहज हुन्छ त ? मितेरी पुलका सवालमा भने सरकारले तत्कालका लागि चीन सरकारसँगको समन्वय र सहयोगमा बेलिब्रिज लगाउनेबारे अध्ययन गरिरहेको छ ।
पुल नै बनाउनका लागि भने चीन सरकारसँग सहयोग माग्ने निर्णय गरेको छ । यसमा सहयोग औपचारिक रूपमा कहिले मागिन्छ ? चीनियाँ पक्षले के जवाफ दिन्छ ? पुल बन्छ बन्दैन र नाका सहज हुन्छ हुदैन ? यी सबै प्रतिक्षाको विषय भएको छ ।
कान्तिपुर समाचारका लागि क्यामेरामा हेम प्रसाईंका साथमा काठमाडौं ।