हुम्लाको खार्पुनाथमा बनेको बेलिब्रिज प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडियो/ कर्णाली करिडोर सञ्चालनमा आउने
असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
हुम्लाको खार्पुनाथमा बनेको बेलिब्रिज प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

हुम्ला । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । 

झण्डै साढे ६ करोड रुपैयाँ लागतमा नेपाली सेनाले ४० दिन लगाएर बेलिब्रिज निर्माण गरेसँगै हुम्ली नागरिकको राष्ट्रिय सडक सञ्जालसँग जोडिने सपना पूरा भएको हो ।

हुम्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुमा नेपाली सेनाले बनाएको बेलिब्रिजको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । पुल उद्घाटनका लागि प्रधानमन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि हुम्ला पुग्नु हुनेछ । 

ओलीले पुल उद्घाटन गरेसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो ।

पुल जोडिएसँगै कर्णाली करिडोर सिधा सञ्चालनमा आउनेछ । पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर-दक्षिण यातायातको ऐतिहासिक ढोका खोलेको छ। योसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनका लागि २७ वर्षको प्रतीक्षा पुरा भएको छ । 

पुल सञ्चालनमा आएपछि भारतको रूपैडिया नाकादेखि चीनको हिल्सा सीमासम्म एउटै गाडीमा सिधा यात्रा गर्न सकिनेछ। यसले स्थानीय यातायात, व्यापार, खाद्यान्न आपूर्ति र पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.