देशभर धुमधामका साथ मनाइयाे २२औँ राष्ट्रिय धान दिवस

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभर धुमधामका साथ मनाइयाे २२औँ राष्ट्रिय धान दिवस

काठमाडौं । असार १५ गते आइतबार देशभर २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ । यस अवसरमा पाँचथरको फाल्गुननन्द गाउँपालिका-७ स्थित नसुवा बेँसीमा भएको कार्यक्रममा किसान, जनप्रतिनिधि, कर्मचारी रोपाइँमा सहभागी भएर नाचगानसमेत गरे । गाउँपालिकाले ५० मुरीभन्दा धेरै धान फलाउनेलाई किसानलाई पुरस्कृत गर्दैआएको छ ।

यसैगरी कञ्चनपुरमा पनि २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव "धान बालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित भीमदत्त नगरपालिका-१५ कालिका टोलमा मेसिनबाट रोपाइँ गर्दै मनाइएको छ ।

रामेछापमा असार १५ भइसक्दा २२ प्रतिशत खेतमा रोपाइँ सकिएको छ। कृषि विकास कार्यालय रामेछापले दिएको तथ्याङ्कअनुसार सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ भइरहेको छ भने आकासेपानीको भर पर्ने खेतहरू बाँझै छन्। ७ हजार ८ सय ५९ हेक्टरमा धान खेती हुने रामेछापमा ७८ प्रतिशत खेतमा रोपाइँ हुन बाँकी छ। गत वर्ष असार दोस्रो सातासम्म १० प्रतिशत मात्रै रोपाइँ भएको थियो।

यसैगरी काभ्रेमा हालसम्म ३८ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालयले जनाएको छ। त्यहाँ पाँचखालका फाँटमा आइतबार आधुनिक प्रविधिमा धान रोप्ने मेसिन र फोर रो प्लान्ट प्रयोग गरिएको छ। 

मण्डन देउपुर नगरपालिका-८ घाइँटार-चाखोला फाँटमा परम्परागत तीन हल गोरू, ट्याक्टर, र स्थानीय शैलीको प्रदर्शन गरियो । कार्यक्रममा काभ्रेको मण्डन देउपुर, बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण र काठमाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा परम्परागत र आधुनिक कृषि प्रविधिको प्रयोग गरी रोपाइँ गरिएको थियो। 

बाजुरामा पनि २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ। दिवसको अवसरमा कृषि ज्ञान केन्द्र बाजुराले तीन जना किसानलाई सम्मान गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.