काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले शानदार सुरूआत गरेको छ ।
उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले रवाफिलो प्रदर्शन गर्दै लाओसलाई ९-० ले पराजित गरेको हो । यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।
खेलको १२औं मिनेटमा नेपालले अग्रता बनायो । सविता राना मगरको फ्रि-किकमा बक्सभित्र रहेकी सावित्राको हेडर पासमा अनिता बस्नेतले पहिलो बारतर्फ गोल गरेकी हुन् ।
यससँगै अग्रता बनाएको नेपालले पहिलो हाफको अन्तिम समयमा दोस्रो गोल गर्यो । यस पटक सरू लिम्बूले निकालेको पासमा अनिताको आकर्षक क्रसलाई स्किपर सावित्राले ६ यार्ड बक्सबाहिरबाट शानदार हेडर गरिन् । योसँगै पहिलो हाफमा नेपालले २-० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको ४७औं मिनेटमा गोल गरेर सरू लिम्बूले नेपालको अग्रता ३-०मा पुर्याइन् । आफ्नो ५०औं खेलमा सरुले सविता राना मगरको पासमा गोल गरेकी हुन् । नेपालका लागि सावित्रा र रश्मीकुमारी घिसिङले थप गोल गरे ।
विपक्षी डिफेन्डरले नियन्त्रणमा लिन नसकेको बललाई लिएर सावित्राले ५५औं मिनेटमा दोस्रो बारतर्फ गोल गरिन् । सावित्राले गोल गरेको अर्को मिनेटमै रश्मीले अग्रता ५-० पुर्याइन् ।
खेलमा प्रिती राईले मिलाइदिएको बलमा गोल गरेर सावित्राले ह्याट्रिक पूरा गरेकी हुन् । उनी अन्तर्राष्ट्रिय खेलमा ६० गोल पुरा गर्ने पहिलो महिला खेलाडी बनेकी छन् । आजको खेलको अन्तिम समयमा उनले एक गोल थपिन् ।
लाओसकी अनुलोकले क्लियर गर्न नसकेको बललाई सावित्राले गरेको प्रहार उनले नै आत्मघाती गरेकी थिइन् । यसबाहेक नेपालका लागि अनिता केसीले पनि एक गोल थपिन् । छनोटमा नेपालले अब आगामी बुधबार श्रीलंकासँग र शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।