काठमाडौं । पार्टी राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणासँगै नेकपा एमालेभित्र यसले तरंग पैदा गरेको छ।
पक्षविपक्षमा बहस त केहि समयअघिदेखि नै चलिरहेकै थियो, अब भने एमाले कार्यकर्ताका रूपमा सक्रिय रहने भण्डारीको उद्घोषले पार्टीमा आगामी दिनमा हुन सक्ने शक्ति संघर्ष र फेरबदलका बारेमा पनि आकलनहरू सुरु भएका छन्।
यसलाई कतिले एमालेमा अध्यक्ष केपी ओलीको एकछत्र राजलाई संघारमा पुर्याएको भन्न थालेका छन् भने कतिले भने फेरि एकपटक कम्युनिस्ट एकताको प्रस्थानविन्दुको रूपमा अर्थ्याउन थालेका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने मत एमालेभित्र नभएको होइन। पार्टीका कतिपय प्रभावशाली नेताहरूले भण्डारीलाई पार्टीमा प्रवेश गर्ने वैधानिक बाटो नै बन्द गर्ने प्रयास पनि गरेका थिए। तर त्यो सफल भएन।
राष्ट्रपति भइसकेको पात्र सक्रिया राजनीतिमा फर्किन हुने वा नहुने भन्ने नैतिक प्रश्नलाई भत्काएर भण्डारीले पार्टी सदस्यता नविकरण गरेको र अब पार्टीकै मार्फत् सक्रियता जनाउने घोषणा गरेपछि एमाले अध्यक्ष केपी ओलीबाट किनारा पारिएकाहरूले राहत मानेका छन् भने ओलीपछिको नेतृत्व दाबी गरिरहेकाहरूलाई भने चिसो लागेको छ।
कुनै समय एउटै समूह बनाएर पार्टी राजनीति गर्नुभएकी भण्डारीको पार्टी फिर्तीलाई स्वभाविक रूपमा लिएको देखाउँदै कतिपय नेता भने हालका लागि पार्टी हाँक्ने नेता ओली नै भएको दाबी गर्छन् ।
पार्टी नेतृत्वमा आएपछि केपी ओलीले फरक मत राख्नेहरूलाई विस्तारै किनारामा धकेल्दै लगेको यथार्थ हो। ओलीइतर समूहलाई पार्टीमा टिक्नै नसक्ने अवस्था बनेकै हो।
स्वयं अध्यक्ष ओलीले पार्टीमा गुटहरू नटिक्ने र टिक्न नदिने बताउँदै नै आउनुभएको थियो। नेतृत्वमाथि असन्तुष्टि र गुनासा भए पनि प्रश्न उठाउन नसक्ने नेता-कार्यकर्ताले अब भने नयाँ धार समाउन सकिने आशा गरेका छन्।
नेकपाको विघटनपछि एमालेमै रहने निर्णय गरेका पूर्व माओवादी नेताहरूका लागि समेत यसले त्राण दिएको पार्टी पंक्तिमा सुनिन थालेको छ। यद्यपि अध्यक्ष ओलीको सक्रियता रहुन्जेल कतिपयले अनुमान गरेजस्तो नेतृत्वमा आउन भण्डारीलाई सहज भने हुने छैन्।
हुन त वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगायतको साथ भण्डारीलाई हुने अब प्रष्ट देखिन्छ । शनिबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पोखरेलले राखेका तर्कले पनि यस्को पुष्टि गर्छ। तर महासचिव शंकर पोखरेल लगायत भने भण्डारीको अबको यात्राका लागि तगारो बन्नेमा शंका छैन् ।
उता दुई-दुई कार्यकालसम्म राष्ट्रप्रमुखको हैसियतमा रहिसकेको व्यक्तिको सक्रिय राजनीतिमा पर्दार्पणलाई अन्य दलले पनि स्वागत गर्ने सम्भावना कमै छ। सत्ता साझेदार घटक नेपाली कांग्रेसले पनि यसलाई बेलाबेला भण्डारीविरूद्धको राजनीतिक मुद्दा बनाउन सक्ने देखिन्छ ।
जेजस्तो भए पनि हालका लागि एमालेभित्र दुईवटा प्रष्ट धारको निर्माण भएको छ। पार्टीमा भण्डारीका लागि कति सहज, कति कठिन ? त्यो त उहाँको पक्ष र विपक्षमा खुल्ने नेता कार्यकर्ता पंक्तिले नै बताउनेछ। तर राजनीतिक वृत्तमा कम्युनिष्ट एकताको पुरानो बहसले फेरि एकपटक प्राण पाएको छ।
राष्ट्रपतिको रूपमा पदासिन रहेको विगतलाई इतिहासको गर्भमा छोडेर आफ्ना स्वर्गीय पतिको सपनालाई पूर्णता दिने उद्घोष गर्नुभएकी भण्डारीका लागि पहिलो परीक्षा भने भदौमा हुने विधान महाधिवेशन नै हुनेछ । जहाँ झण्डै १० वर्षसम्म पार्टी पंक्तिसँग अलग र निरपेक्ष रहँदा निर्माण भएको दुरी मेट्ने र अध्यक्ष ओलीको एकल निर्णय र नेतृत्वको सामना भण्डारीले गर्नुपर्नेछ ।