महिला राष्ट्रिय फुटबल टिमको एघारौं कप्तान बनिन् सावित्रा भण्डारी

असार १५, २०८२ |खेल ब्युरो
महिला राष्ट्रिय फुटबल टिमको एघारौं कप्तान बनिन् सावित्रा भण्डारी

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छिन् । अखिल नेपाल फुटबल संघ-एन्फाले लाओसविरूद्धको खेल सुरू हुनु केही बेरअघि मात्र सावित्रालाई कप्तान घोषणा गरेको हो ।

एन्फाले लाओसविरूद्धको प्लेइङ इलेभेन सार्वजनिक गर्दा भने रेनुका नगरकोटीलाई कप्तानका रूपमा प्रस्तुत गरेको थियो । खेल सुरू हुँदा भने सावित्राले कप्तानको आर्म ब्यान्ड लगाइन् । 

महिला राष्ट्रिय टिमको नेतृत्व सम्हाल्ने सावित्रा एघारौं कप्तान हुन् । एन्फाका सीईओ ईन्द्रमान तुलाधरले सावित्रालाई यो प्रतियोगिताभर कप्तानको जिम्मेवारी दिइएको बताए । 

यसअघि गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले कप्तानी गर्दै आएकी थिइन् । आजको खेलमा भने एन्जिलालाई प्रशिक्षक प्याट्रिक डी वाइल्डले बेन्चमा राखे । सावित्रा नेपाली फुटबलको स्टार फरवार्ड हुन् । 

उनको नाममा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान छ । उनले ५४ खेल खेल्दै ५७ गोल गरेकी छिन् । सावित्रा युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । 

उनले सन् २०१४ मा भारतमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलमार्फत डेब्यु गरेकी थिइन् । नेपाली महिला टिमको आज एक सयौं अन्तर्राष्ट्रिय खेल पनि हो । 

नेपालले सन् १९८६ बाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो । सो बेला रमा सिंहले नेपाली टिमको नेतृत्व गरेकी थिइन् । त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भन्डारी, अनु लामा, सजना राना मगर, रेनुका नगरकोटी, निरू थापाले आर्म ब्यान्ड लगाएका थिए ।