काठमाडौं । वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि संशोधन गरी सम्बन्धित देशका नियोगबाटै श्रम स्वीकृति दिन लागिएको हो ।
भिजिट भिषामार्फत् र श्रम स्वीकृति नलिई विदेश पुगेर काम गरिरहेका करिब ७ लाख नेपालीलाई गन्तव्य मुलुकमै श्रम स्वीकृति दिने प्रक्रिया सरकारले अघि बढाएको छ ।
पराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बिहिबार गन्तव्य मुलुकबाटै नेपालीलाई श्रम स्वीकृति दिने व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।
परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नियोगहरूलाई श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२४ को सम्टेम्बरअघि नेपालबाट श्रम स्वीकृति नलिएका तर विदेशमा काम गरिरहेका सबैलाई वैधानिक गर्ने काम सुरू गरिएको हो ।
अब भिजिट भिसामार्फत् गएका श्रमिकले पनि आफूले काम गरिरहेको प्रमाण दूतावासमा दिएपछि श्रम स्वीकृति पाउने छन् । यो व्यवस्थाले विदेशमा काम गरिरहेका घरेलु महिला श्रमिक स्वदेश फर्किए पनि पुनः वैधानिक रूपमै रोजगारीमा जान पाउने छन् ।
यसअघि भिजिट भिसामार्फत् विभिन्न देश पुगेका नेपालीहरू श्रमिकका रूपमा काम गरिरहे पनि नेपाल सरकारले कानुनी मान्यता दिएको थिएन । दूतावासबाटै श्रम स्वीकृति लिएपछि वैदेशिक रोजगार बोर्डबाट पाउने सुविधा पाउने छन् ।
यस्तै सबै श्रमिकको विवरण वैदेशिक रोजगार विभागको सूचना प्रणाली र श्रम सञ्चार पोर्टलमा समेत राखिने छ । यसबाट झन्डै ७ लाख नेपाली श्रमिक लाभान्वित हुने सरकारको आकलन छ ।