देशका अधिकांश राजमार्ग यात्रा गर्नै अयोग्य, बुटवल-नारायणघाट, काठमाडौं-मुग्लिङ र वीपी राजमार्ग हिँड्नै जोखिम

सडक बनाउनुपर्ने सरकार भन्छ - वर्षात्‌मा गाडी चलाए कारबाही !
असार १२, २०८२ |विकास आचार्य
देशका अधिकांश राजमार्ग यात्रा गर्नै अयोग्य, बुटवल-नारायणघाट, काठमाडौं-मुग्लिङ र वीपी राजमार्ग हिँड्नै जोखिम

काठमाडौं । वर्षातको समयमा देशका अधिकांश सडक अस्तव्यस्त छन् । सडक मार्गबाट यात्रा गर्नुपरे गन्तव्यमा पुग्न कति समय लाग्छ भन्ने यकीन नै हुन छाडेको छ । 

एक-दुई वटा मात्र होइन, देशको पूर्वदेखि पश्चिमसम्मका सडकको अवस्था जीर्ण छ । भित्रि सडक मात्र नभएर मुख्य राजमार्ग नै कतै भत्किएका छन् त कतै पुल नै भाँचिएका छन् । 

बाढी र पहिरोले सडकमा उत्तिकै क्षति पुर्‍याएको छ । गृहमन्त्री रमेश लेखकले भने भारी वर्षाका बेला जोखिम भएका सडकमा सवारी साधन नचलाउन र चलाउन दिए प्रमुख जिल्ला अधिकारीलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिनुभएको छ । सडक मर्मत गर्नु त कहाँ हो कहाँ, सरकार कारबाही गर्न तम्सिएको छ ।

सडक विभागले राष्ट्रिय राजमार्गअन्तर्गतको करिब १५ हजार किलोमिटर सडक मात्रै आफ्नो क्षेत्राधिकारमा पर्ने भन्दै मर्मत सम्हार गर्छ । बर्खामा भत्किँदा वा बिग्रिँदा पनि विभागले राष्ट्रिय राजमार्गलाई मात्रै प्राथमिकता दिन्छ । 

त्यसबाहेकका सडक की त प्रदेश की स्थानीय तहले मर्मत सम्हार गर्नुपर्ने हुन्छ । तर, गतवर्ष भत्किएकै सडक मर्मत भएका छैनन् । सडक मर्मतका नाममा राज्यले बर्सेनि अर्बौं खर्च गर्छ । तर गुणस्तरमा ध्यान नदिँदा यात्रुले कहिलेसम्म सास्ती बेहोर्ने ?


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।