काठमाडौं । खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्नेसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ ।
राष्ट्रिय सभाको बिहिबार बसेको बैठकमा सांसद जगप्रसाद शर्माले यस्तो सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सांसद शर्माले अहिले पनि धेरै ठाउँमा ब्लिचिङ पाउडर नपाएर दूषित पानी पिउनुपर्ने बाध्यता रहेको भन्दै संसद्को ध्यानाकर्षण समेत गराउनुभयो ।
शर्माको प्रस्तावमा खानेपानी सञ्चालनकर्तालाई राजश्व छुट दिन समेत जोड गरिएको छ । सङ्कल्प प्रस्तावमाथि बोल्दै खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीमा लाग्दै आएको विद्युत् महसुल लगायत कर छुटको विषयमा अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी गराउनुभयो ।
त्यसैगरी ब्लिचिङ पाउडर उद्योग सञ्चालनका लागि सार्वजनिक-निजी साझेदारी मोडलमा जान सकिने समेत बताउनुभयो । सङ्कल्प प्रस्तावमाथि समर्थन जनाउँदै सांसदहरूले ब्लिचिङ पाउडर उत्पादन कम्पनीले केही भए पनि रोजगारी सिर्जना गर्ने बताएका थिए ।