काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीशविरूद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् ।
संसदीय सुनुवाइ समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित न्यायाधीशविरूद्ध ७ वटा उजुरी परेको जानकारी दिनुभयो ।
सर्वोच्चमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलविरूद्ध २-२ वटा तथा शान्तिसिंह थापाविरूद्ध एउटा उजुरी परेको छ । त्यसैगरी २ वटा सैद्धान्तिक उजुरी परेका छन् ।
उजुरीकर्तालाई भोलि बोलाएर कुरा सुन्ने र आइतबार बस्ने बैठकमा प्रस्तावित न्यायाधीश र न्यायपरिषद्का सदस्यमा सिफारिस भएकाहरूलाई बोलाएर कार्ययोजना सुन्ने निर्णय बैठकले गरेको छ ।
प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरूद्ध सरकारी कागजात किर्ते गरी पेस गरेको आरोपसहित उजुरी परेको छ । काठमाडौं सतुङ्गलको एपोलो क्यापिटल इन्भेष्टमेन्टको मुद्दामा मालपोत कार्यालयबाट कम्पनीले घटी जग्गा प्रयोग गरेको भन्ने विवरण नापी कार्यालयले अख्तियारमा पठाएको जानकारीपत्र किर्ते गरेको आरोप उजुरीकर्ताले लगाएका छन् ।
त्यसैगरी पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाका विषयमा पार्टी कार्यालयका आयोजित ब्रिफिङमा सहभागी भएको भन्दै अर्को उजुरी परेको छ । प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलविरूद्ध सर्वोच्च अदालतको रजिष्टार हुँदा प्रत्यक्ष अप्रत्यक्ष करिब ८ अर्ब भ्रष्टाचार गरेको उजुरीकर्ताको आरोप छ ।
शान्तिसिंह थापा विरूद्ध मानवअधिकार हनन् गर्ने गतिविधिमा संलग्न रहेको आरोपसहितको उजुरी परेको छ । न्याय परिषद्को सदस्यमा सिफारिस महेशकुमार नेपालविरूद्ध भने कुनै उजुरी परेको छैन् ।