काठमाडौं । सांसद अमरेशकुमार सिंहले बजेट विनियोजनमा विभेदमा परेका ७२ जिल्लालाई लिजमा दिँदा हुन्छ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ ।
संसद्मा बोल्ने क्रममा स्वतन्त्र सांसद सिंहले बजेटमा पाँच जिल्ला मात्रै भाग्यमानी भएको र बाँकी जिल्लामाथि विभेद भएको बताएपछि विवाद भएको हो । भाग्यमानी जिल्लालाई नेपालमा राखेर बाँकी जिल्लालाई लिजमा दिनुपर्ने उहाँले बताउनुभएको हो ।
सांसद सिंहको भनाइप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाउनुभयो । यस्तो अभिव्यक्ति राष्ट्रघाती भएको उहाँको भनाइ थियो ।
त्यसपछि सत्तारूढ दलका सांसदहरू र सांसद सिंहबीच आरोप-प्रत्यारोप चल्यो । सांसदहरूको विरोधपछि सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो ।
एमाले र कांग्रेस सांसदले सिंहविरूद्ध नाराबाजीसमेत गरेका थिए । सिंहले पुन: बोल्ने क्रममा बजेट विनियोजन विभेदपूर्ण गरेको भनेपछि सभामुख घिमिरेले निर्धारित विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिनु भएको थियो ।