उदयपुर । उदयपुरका किरात राई समुदायले यो वर्षका लागि साकेला नाचेर आफ्नो महान चाड उभौलीलाई बिदा गरेका छन् । किरात राई समुदायले मंसिरे पूर्णिमा उधौली र वैशाखे पूर्णिमा उभौली गरी वर्षमा दुईपटक यो चाड मनाउने गर्छन् ।
त्यहाँका किराात राई समुदाय ढोल, झ्याम्टा बजाउँदै एक महिनासम्म साकेला सिलीमा रमाए । आफ्नो मौलिक किरााती भेषभुषा र गरगहनामा सजिएर साकेला नाचेर रमाए ।
राई समुदायको बस्ती रहेको विभिन्न ठाउँमा आलोपालो गर्दै साकेला नाचिएको हो । विभिन्न वडा, पालिका हुँदै आइतबार अन्तिम दिनको रूपमा चौदण्डीगढी नगरपालिका-३ हात्तिसारमा नाचिएको हो ।
वर्षदिनको थकान मेटाउदै आफन्तजनसँग भेटघाट अनि रमाउन यो पर्व विशेषरूपले मनाउने गरिन्छ । युवायुवती, बालादेखि बृद्धसम्म सारमा सार मिलाउँदै साकेला नाच्ने गर्दछन् ।
साकेलामा सिलिको विशेष महत्व हुन्छ । ताल विनाको बाजा, सुरविनाको गाना भनेजस्तै सिली विनाको साकेला राम्रो मानिँदैन । प्रकृतिका पशुपन्छी, जीवजन्तु र पुर्खायुगको मानवीय जीवनशैली सिलीमा उतार्ने गरिन्छ । यसकारण शिली विशेष मानिन्छ ।
पछिल्लो समय लोप हुँदै गएको सिलीको प्रवर्द्धनका लागि विभिन्न ठाउँमा प्रतियोगिता हुने गरेको छ । उधौली र उभौली गरी दुईपटक मनाइने यो पर्वमा किराँत समुदायले चुल्हो पुजा गरी पितृलाई सम्झन्छन् । प्रकृतिलाई देवी र देवको रूपमा पुज्दछन् ।
किराँत समुदायको उद्गम बस्ती रहेका पूर्वी जिल्लाका गाउँटोल र नगरका विभिन्न साकेलाथान र चौरीहरूमा एक महिनासम्म आलोपालो गरेर साकेला नाचको आयोजना भएको थियो ।