गाजामा बन्धक बनाइएका तीन इजरायलीको शव फेला

हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको दाबी
असार ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा बन्धक बनाइएका तीन इजरायलीको शव फेला

काठमाडौं । इजरायली सेनाले हमासको कब्जामा रहेका तीन बन्धकको शव गाजामा फेला पारेको जनाएको छ । सेना र आन्तरिक सुरक्षा सेवा शिन बेतले गए राति गरेको संयुक्त कारबाहीका क्रममा बन्धकहरूको शव फेला पारिएको इजरायलले जनाएको छ ।

यसरी फेला पारिएका शवहरूमा ७१ वर्षीया ओफ्रा केइदार, २१ वर्षीय योनातन सामेरानो र १९ वर्षीय सैनिक शे लेभिन्सनको शव रहेको जनाइएको छ । तीनै जना इजरायली हुन् । २०२३ को अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणका क्रममा हमासले तीनै जनाको हत्या गर्नुका साथै शवलाई समेत सँगै लिएर गएका थिए । जुन महिनामा मात्रै इजरायली सेनाले गाजामा ८ जना बन्धकको शव फेला पारिसकेको जनाइएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त कारबाहीको प्रशंसा गर्नुका साथै इरानसँगको द्वन्द्वसँगै गाजामा रहेका बाँकी बन्धकलाई फिर्ता ल्याउने प्रयास जारी रहेको बताउनुभएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले अक्टोबर ७ मा आक्रमण गरी करिब १२ सय जनाको ज्यान लिनुका साथै एक जना नेपाली विद्यार्थी विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाई लगेको थियो । २५१ मध्ये आधाभन्दा बढी संघर्षविराम र अन्य सम्झौता अन्तर्गत मुक्त भएका थिए भने ८ जनाको जीवितै उद्धार गरिएको थियो । यसका साथै इजरायली सेनाले केहीको शव फेला पारेको थियो ।

अहिले पनि हमासको नियन्त्रणमा ५० जना बन्धक रहेको र त्यसमध्ये २० जना मात्र जीवित रहेको विश्वास गरिएको रोयटर्सले जनाएको छ ।

इजरायलले गाजामा जारी राखेको सैन्य कारबाहीमा अहिलेसम्म ५५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।