काठमाडौं । इरानको राजधानी तेहरानमा भएका १७ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासमार्फत् उद्धार गरिएको छ । उनीहरूलाई नयाँदिल्ली हुँदै नेपाल ल्याइने जनाइएको छ ।
इरानमा रहेका नेपालीहरूलाई तेहरानबाट उत्तरी सहर मशहद हुँदै विशेष विमानमार्फत् उद्दार गरिएको हो । भारतीय दूतावासले नेपालीहरूलाई तेहरानबाट बसमार्फत् मशहद लगेको थियो।
आइतबार तेहरानबाट मशहद हुँदै उद्दार गरिएकामा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनका श्रीमती गायत्री कार्की थापा छन् । त्यस्तै, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल छन् ।
उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टका काम गर्दै आएको बताइएको छ । इरानी जेलमा रहेका ५ जना नेपालीलाई उद्धार गर्ने दिन भने तोकिएको छैन् ।
यसअघि, परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धार गर्न भारत सरकारलाई आग्रह गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग अनुरोध गरेको जानकारी दिँदै भारत सरकार सकारात्मक रहेको बताउनुभएको थियो ।
भारतले हालसम्म अपरेशन सिन्धुमार्फत् १४ सय २८ भारतीयको इरानबाट उद्धार गरिसकेको छ ।