भारतको सहयोगमा तेहरानबाट आज ११ नेपालीको उद्धार गरिँदै

असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतको सहयोगमा तेहरानबाट आज ११ नेपालीको उद्धार गरिँदै

काठमाडौं । इरानको राजधानी तेहरानमा भएका १७ जना नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले उद्धारका लागि आइतबार तेहरानबाट उत्तरी सहर मशहद लैजाने भएको छ ।

भारतीय दूतावासले आज तेहरानबाट बसबाट कोम हुँदै मशहद लैजाने तयारी गरेको छ । तेहरान छाडेका ७ जना नेपाली शनिबार बेलुकासम्म पुन: तेहरान फर्किँदैछन् । ११ जनालाई आइतबार बिहानै जम्मा हुन तेहरानको स्थानीय ठेगाना दिइएको हरि थापाले कान्तिपुरलाई जानकारी दिनुभयो । 

सो स्थानबाट नेपालीलाई मशहद पुर्‍याइनेछ भने मशहदबाट विमानबाट भारत ल्याइनेछ । थापाले तेहराइनबाट कोमसम्म पुग्न कम्तीमा बसबाट साँढे दुई घन्टा लाग्ने जानकारी दिनुभयो । त्यहाँबाट मशहद पुग्न झन्डै १२ घण्टा लाग्छ । 

अहिले भारतीय दूतावासका अधिकारीहरू मशहदमा बसेर उद्धारको काम गरिरहेका छन् । आज नै तेहरानबाट उद्धार गर्ने भएपछि तेहरान छोडेर अर्को सहर गएका ७ जना नेपाली पुन: तेहरान फर्किँदै छन् । उनीहरूले बुधबार तेहरान छाडेका थिए ।

आइतबार तेहरानबाट मशहद जानेहरूमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनका श्रीमती गायत्री कार्की थापा छन् । त्यस्तै, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल छन् । 

उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टका काम गर्दै आएको बताइएको छ । इरानी जेलमा भएका ५ जना नेपालीलाई उद्धार गर्ने दिन भने तोकिएको छैन् । 

दोहास्थित नेपाली दूतावासले ३ जनाको ट्राभल डकुमेन्ट पठाइसकेको छ । दुई जनासँग राहदानी साथमै छ । दोहास्थित नेपाली दूतावासले दाङका गोविन्द डाँगी, मदन डाँगी र पुष्कर खत्रीको ट्राभल डकुमेन्ट पठाएको हो । 

महेश डाँगी र बालकृष्ण खड्काको साथमै राहदानी छ । उनीहरू डेढ महिना अगाडि इरानको आवासीय कानुन उल्लंन गरेको आरोपमा पक्राउ परेका थिए । अदालतले उनीहरूलाई स्वदेश फर्काउन आदेश जारी गरिसकेको छ ।

यसअघि, परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धार गर्न भारत सरकारलाई आग्रह गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग अनुरोध गरेको जानकारी दिँदै भारत सरकार सकारात्मक रहेको बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.