काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण आज पनि दुई वटा राष्ट्रिय राजमार्ग अवरूद्ध छन् भने विभिन्न सडकका ५४ स्थानमा एकतर्फी यातायात सञ्चालन भैरहेका छन् ।
उत्तर-दक्षिण कोरिडोरअन्तर्गत कालीगण्डकी लोकमार्गको गुल्मीस्थित गरगरेमा शुक्रबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको छ । पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन नसकिएको कालीगण्डकी कोरिडोर सडक आयोजनाले जनाएको छ ।
त्यस्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्कीवासस्थित विनयी खोलाआएको बाढीले डाईभर्सन बगाउँदा सवारी आवागमन अवरूद्ध कायमै छ । यता पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-नौबिसे, नौबिसे-मलेखु, मलेखु-मुग्लिनको स्तरोन्नति तीब्र बनाइएको छ ।
कतिपय स्थानमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाएर सडक मर्मत तथा निर्माण गरिएको छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभरि नै मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेको छ ।
आगामी तीन दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तहमा पुग्ने विभागले जनाएको छ ।
त्यस्तै कोशी, नारायणी र यसका प्रमुख सहायक नदीहरूको पनि जलसतह सतर्कता तह आसपास पुग्ने सम्भावना देखिएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।