कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड रूपैयाँको बजेट ल्याएको छ ।
उपप्रमुख मञ्जुदेवी गुरूङले आगामी आर्थिक वर्षका लागि कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिँदै बजेट प्रस्तुत गर्नुभएको हो ।
चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेटको आकार ८३ करोड ७९ लाख रूपैयाँले बढेको छ । चालु आर्थिक वर्षका लागि पोखराले सात अर्ब ५१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
उपप्रमुख गुरूङले बजेटको स्रोतमा तीन अर्ब १ करोड ८१ लाख संघीय सरकारको अनुदानबाट प्राप्त हुने र ५ अर्ब २३ करोड ३१ लाख अर्थत् ६४ प्रतिशत बजेट आन्तरिक आयबाट बेहोर्ने बताउनुभएको छ ।
महानगरले सबैभन्दा धेरै बजेट पूर्वाधार विकासमा ४४ प्रतिशत भन्दा धेरै विनियोजन गरेको छ । नगरसभामा मेयर धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि पेस गर्नुभएको नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख गुरूङले बजेट पेस गर्नुभएको थियो ।