विराटनगर भन्सारमा एमआरपी विवाद : १५० भन्दा बढी ट्रक-कन्टेनर ‘होल्ड’

वैशाख १६, २०८३ |सुशीला पाठक
विराटनगर भन्सारमा एमआरपी विवाद : १५० भन्दा बढी ट्रक-कन्टेनर ‘होल्ड’

विराटनगर । विराटनगर भन्सार नाकामा अधिकतम खुद्रा मूल्य एमआरपी नलेखिएका सामान लोड भएका डेढ सय भन्दा धेरै ट्रक र कन्डेनर होल्ड भएका छन् ।

सरकारले एक सय बुँदे कार्यसूची सार्वजनिक गर्दै व्यापारिक वस्तुको एमआरपी अनिवार्य उल्लेख गरेर आयात गर्नुपर्ने उल्लेख गरेको थियो । जसका लागि १५ दिनको समयसीमा तोकिएको थियो । मंगलबार समय सीमा सकिएसँगै एमआरपीको लेबल नलगाएर आयात भएका सामान भन्सार नाकामै रोकिएका हुन् । 

एमआरपी नलगाएका सामानको भन्सार जाँच हुन सकेको छैन । रोकिएका सामान झ्यालका ढोका, साइकलका सामान, छाता, तयारी पोसाकलगायतका वस्तु रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले नाकामा एक सयभन्दा धेरै र भारततर्फ ६० भन्दा बढी मालवाहक सवारी रोकिएको जानकारी दिनुभयो । 

मोरङका व्यवसायीले भने सबै प्रकारका सामग्रीमा एमआरपीको लेबल लगाएर आयात गर्न असम्भव भएको बताएका छन् । डलरको मूल्य एक सय ५० हुँदा एलसी खोल्ने सामान भन्सार नाकामा आइपुग्दा एक सय ६० भन्दामाथि हुने भएकाले कुन लागतको हिसाब गरेर एमआरपी टाँसेर आयात गर्ने भन्दै निर्णय सच्च्याउन माग गरेका छन् ।

एमआरपीको नियम व्यवहारिक नभएको पनि उद्योगी व्यसायीको भनाइ छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।