आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत

जेष्ठ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत

काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद् सञ्चालन हुने संकेत गर्नुभएको छ ।

एजेन्सीसँगको कुराकानीमा सभामुख घिमिरेले आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको हो । 

सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उहाँले सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरूबीचको छलफलपछि संसद् अवरूद्ध अवस्थाको अन्त्य हुने बताउनु भयो । 

उहाँले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । व्यवस्थाकै विरूद्धमा जाने दलहरूले संसद् गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उहाँले संसदीय दलभित्रका नेताहरूले यसबारे सोच्न जरूरी रहेको बताउनु भयो ।

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ । 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानबिन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शिर्ष तहमा छलफल हुन लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.