नारायणगढ । नारायणगढका व्यवसायीहरूले फुटपाथ कब्जा गरेर व्यापार गर्न थालेपछि भरतपुर महानगर प्रहरीले फुटपाथमा राखेका सामान जफत गर्न थालेको छ ।
महानगर प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकाल नेतृत्वको टोलीले नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्मका क्षेत्रमा फुटपाथमा राखिएका सामान जफत गरेको हो ।
फुटपाथमा हिँड्दा समस्या हुने गरेको जनगुनासो आएपछि बाटोमा अवरोध गरेर राखिएका सामान जफत गर्न थालिएको महानगर प्रहरी नायव उपरीक्षक ढकालले जानकारी दिनुभयो ।
उहाँले कतिपय व्यवसायीलाई सचेत गरिएको भन्दै अटेर गर्नेहरूको सामान जफत गरिएको बताउनुभयो । उहाँले फुटपाथमा सामान नराख्न सबै व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो । सामान जफत गर्दा केही व्यवसायीहरूको नगर प्रहरीसँग चर्काचर्की परेको थियो ।