काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका-२ चनौटे लडकुमा गएराति भएको आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। विद्युत् सर्ट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
राजेश कुमार श्रेष्ठको ढुङ्गा-माटोले बनेको, जस्ताको छानो भएको दुई तले कच्ची घरमा राति करिब साढे दुई बजेतिर अचानक आगलागी भएको थियो। प्रहरी तथा स्थानीयबासीहरूको सहयोगमा आगो करिब साढे चार बजेसम्ममा नियन्त्रणमा ल्याइएको थियो।
आगलागीबाट घरसहित घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, सिरक-डसना, फर्निचरलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त आगलागीबाट झण्डै २५ लाख रूपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन। स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।