काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर-ईद आज अर्थात् शनिबार नेपालसहित विश्वभरका मुस्लिम समुदायले हर्षोल्लास पूर्वक मनाउँदैछन् ।
रमजान पर्वको ७०औँ दिनमा बकर-ईद मनाउने प्रचलन छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि एक-आपसमा शुभकामना आदान-प्रदान गर्ने चलन छ । काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको आज भीड लाग्ने गर्छ ।
हिजरी संवत् अनुसार १४ सय ३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । बकर-ईदको समयमा जीवनको एकपटक मक्का मदिना हज गर्न जानु पुण्य प्राप्ति हुने विश्वास छ ।
त्यहाँ जान नपाउनेले भने घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न जनावरको कुर्बानी अर्थात् बली दिइन्छ । पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।