बैठक छल्दै बालेन्द्र, काठमाडौं महानगरको बजेट अन्योलमा

जेष्ठ २४, २०८२ |विकास आचार्य
बैठक छल्दै बालेन्द्र, काठमाडौं महानगरको बजेट अन्योलमा

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसहित वडाध्यक्षहरूबीचको टकरावले नगरसभा र कार्यपालिका बैठक नै प्रभावित भएको छ । महिनामा एक पटक बस्नै पर्ने कार्यपालिका बैठक साढे ५ महिनादेखि बस्न सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।

“साढे ५ महिनादेखि बैठक बस्न सकेको छैन, विकासको काम ठप्प छ”, वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले बताउनुभयो ।

अर्कोतर्फ ६ महिनामा बस्नुपर्ने नगरसभा बैठक बजेटका बेला त झन् अनिवार्य बस्नैपर्ने बाध्यता छ । तर, प्रमुख शाह कार्यपालिका र नगर सभा दुवै बैठक छल्दै हिँड्न थालेपछि महानगरभित्रका विकास निर्माण तथा नीतिगत निर्णय अन्योलमा परेका छन् । नगरसभा र कार्यपालिका बैठक बोलाउन जनप्रतिनिधिहरूले प्रमुख शाहमाथि दबाब बढाउन थालेका छन् ।

कार्यपालिका बैठक नबस्दा असार १० भित्र ल्याउनैपर्ने बजेट समेत अन्योलमा परेको छ भने नीति तथा कार्यक्रम पनि कहिलेसम्म आउँछ टुंगो छैन ।

चालु आर्थिक वर्षका लागि २०८१ जेठ ३२ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट प्रस्तुत गरिएको थियो । बजेटमाथि छलफल सकेर असार २९ गते नगरसभाको १३ औं अधिवेशनले बजेट पारित गरेको थियो । तर, यस पटक अहिलेसम्म प्रमुख शाहले कार्यपालिका बैठक आह्वान नगर्दा नीति तथा कार्यक्रम र बजेट नै अन्योल भएको हो ।

जनप्रतिनिधिले बैठक आह्वान गर्न प्रमुख शाहलाई चैत १० र जेठ १२ गरी २ पटकसम्म पत्राचार पनि गरिसकेका छन् ।

गत पुस ८ गते बसेको कार्यपालिका बैठकले पुस १४ गते नगरसभाको १६ औं अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसयता बैठक बस्न नसक्दा नयाँ ठेक्का आह्वानदेखि नगर गौरव आयोजना लगायतको भुक्तानी रोकिएको छ भने करारका कर्मचारीहरूको नयाँ सम्झौता पनि हुन सकेको छैन । यस्तै वडा र विभागहरूले ल्याउने अनगिन्ती प्रस्ताव पनि अलपत्र छन् ।

“नगर गौरवदेखि अधिकांश योजनाको बजेट रोकिएको छ । कर्मचारीको करार सम्झौता नवीकरण पनि हुन सकेको छैन । बजेट र नीति तथा कार्यक्रमको मुखमा बैठक नबस्दा समग्र प्रणालीमै असर परेको छ”, वडाध्यक्ष थापाले बताउनभयो ।

काठमाडौं महानगर प्रमुख शाह र उपप्रमुख डंगोलबीच अहिले पानी बाराबारको स्थिति छ भने अधिकांश वडाध्यक्ष उपप्रमुखको पक्षमा छन् । कान्तिपुरको सम्पर्कमा आएका वडा अध्यक्षहरूले प्रमुख शाहको बोल्ने र लेख्ने शैली, छलफल नगरी एकल निर्णयमा चल्ने, कार्यपालिका सदस्यहरूलाई समय नदिने जस्ता व्यवहारका कारण आजित भएको सुनाए ।

सल्लाहकारमार्फत खबर पुर्‍याउनु पर्ने र कर्मचारीप्रति असहिष्णु व्यवहारका कारण पनि प्रमुखसँगको सम्बन्ध चिसिएको उनीहरूले बताए । तर उनीहरूले क्यामरामा बोल्न भने चाहेननन् ।

महानगर प्रमुखले बैठक बसेरै समस्याको निकास निकाल्नुपर्ने पूर्वमहानगर प्रमुख विद्यासुन्दर शाक्यको सुझाव छ । “नगरप्रमुख विवाद मिलाउन अग्रसर हुनुपर्छ । बैठक बोलाउनासाथ विवाद समाधान हुन्छ । कुनै तुष राखेर बैठक नबोलाउँदा महानगरलाई नै घाटा हुन्छ”, शाक्यले भन्नुभयो ।

अहिले बैठक नै बस्न नसकेपछि समस्या सुल्झाउन एमालेले ३२ नम्बर वडाध्यक्ष नवराज पराजुलीको नेतृत्वमा वार्ता समिति बनाएको छ । तर, प्रमुख शाहसँग वार्ता हुनै सकेको छैन । शाहले पनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं प्रकरण र प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन लगायतमा असन्तुष्टि जनाउँदै बैठक बोलाउन अग्रसरता देखाउनुभएको छैन । अन्ततः यो विवादले समग्र महानगरको विकास कार्यक्रममा बाधा पुर्‍याएको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।