बाँके । विकास निर्माणका कामको ठेक्का लगायो भने सम्झौता अवधिभित्र सम्पन्न हुनुको साटो झन् भाताभुङग पारेर अलपत्र छाडेका उदाहरण धेरै छन । तर हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज-गुलरिया २८ किलोमिटर सडक भने सम्झौता गरेको म्यादभन्दा करिब एक वर्षअघि नै सम्पन्न भएको छ ।
करिब ३ अर्ब रूपैयाँ लागतमा कालोपत्रे गरिएसँगै बाँके र बर्दियाका नागरिकलाई आवागमन सुविधासँगै कृषि उत्पादन बजार पुर्याउन सहज भएको छ ।
एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी बाँकेको खजुरा बजारको १ हजार ६ सय मिटर सडक निर्माण ठेक्का दिएको ७ वर्ष भयो, अझै अधुरै छ । यस्तो अवस्था दखिरहनुभएका खजुराका सुन्दरसिह थापालाई नेपालगन्जदेखि गुलरिया जोड्ने हुलाकी राजमार्ग निर्धारित समयमा सम्पन्न हुनेमा पटक्कै विश्वास थिएन । तर यो राजमार्ग सझौता अविधिभन्दा करिब एक वर्ष अघि नै सम्पन्न भएको देख्दा उहाँ चकित पर्नुभएको छ ।
नेपालगन्जबाट १२ किलोमिटर पश्चिम ४ लेन र त्यसपछि १६ किलोमिटर दुई लेनको यो राजमार्ग निकै आकर्षक बनेको छ । राजमार्गको बीचमा रंगीबिरंगी फूल र बोटबिरुवाले सडकको सौन्दर्य मात्रै बढाएको छैन शीतलतासमेत प्रदान गरेको छ ।
सरकारसागको सम्झौताअनुरुप भुक्तानी नपाएको भन्दै निर्माण रोक्दैआएका छन । तर ३ अर्ब १४ करोड ४७ लाख रूपैयाँ लागतमा यो सडक निर्माणको ठेक्का पाएको शर्मा एन्ड कम्पनी प्रालिले ७० करोड रूपैयाँ भुक्तानी लिन बाँकी हुँदा पनि हुलाकी राजमार्ग योजनालाई वैशाखमै सडक हस्तान्तरण गरेको छ । जसले बाँके र बर्दियाका बासिन्दाको कृषि र आर्थिक विकासको बाटो खोलिदिएको स्थानीय बताउँछन् ।
राजमार्ग २०८३ मंसिरमा निर्माण सम्पन्न गर्नुपर्ने थियो- त्यसो हो भने त एक वर्ष ७ महिनाअघि नै हुन्छ । आवासीय क्षेत्रबाहिर ४ लेनको, अवासीय क्षेत्रमा २ लेनको सडक निर्माण गर्न बजेट अभाव हुँदा हुँदै पनि निर्माण कम्पनीले कसरी छिटो सम्पन्न गर्यो त ?
विद्युत प्राधिकरण र डिभिजन वन कार्यालयबीच समन्वय नहुँदा राजमार्गमा पर्ने रूख काट्न र बिजुलीका खम्बा सार्नसक्ने अवस्था थिएन । निर्माण कम्पनीले यसका लागि समन्वयको पहल गरिरहादा आफ्नै लगानीमा रूख काट्दै, खम्बा सार्दै गर्नुका साथै २ सय २० घर टहरा भत्काएर काम जारी राखेकाले निर्धारित मितिभन्दा पहिल्यै काम सम्पन्न गर्न सम्भव भएको हो ।