काठमाडौं । यूएफा महिला युरोकप २०२५ को फाइनलमा आज डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र विश्वकप विजेता स्पेन प्रतिस्पर्धा गर्दैछन् । इंग्ल्यान्ड विश्व वरीयताको पाँचौं स्थानमा छ भने स्पेन दोस्रो स्थानमा छ ।
इंग्ल्यान्ड स्पेनविरुद्ध मैदान उत्रिँदा दुई वर्षअघि फिफा महिला विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लिने लक्ष्य हुनेछ ।
सरिना विगमनको प्रशिक्षणमा इंग्ल्यान्डले २०२२ को महिला युरो कप जितेको थियो । त्यसको एक वर्षपछि २०२३ को फिफा महिला विश्वकप फाइनलमा इंग्ल्यान्ड स्पेनसँग पराजित भएको थियो । स्पेनी महिला टोलीका लागि यो पहिलो युरो फाइनल हो । २०२२ मा इंग्ल्याण्डसँग क्वार्टरफाइनलमा हार बेहोरेको स्पेन यसपटक उपाधिको दावेदारको रूपमा उभिएको छ । विश्वकप र महिला नेसन्स लिग जितिसकेको स्पेन लगातार ३ अन्तर्राष्ट्रिय उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा छ ।
स्पेनले पछिल्ला १० खेल लगातार जितेको छ । युरो २०२५ मा अपराजित रहेको टोलीले पोर्चुगल, बेल्जियम र इटालीलाई सहजै पराजित गर्दै समूह चरण पार गरेको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र सेमिफाइनलमा जर्मनीलाई हराउँदै स्पेनले पहिलोपटक युरोको फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले युरो २०२५ को सुरुआतमा फ्रान्ससँग हार बेहोरे पनि त्यसपछि सानदार पुनरागमन गरेको थियो । नटआउट चरणमा स्विडेनविरुद्ध पेनाल्टीमा र इटालीविरुद्ध अतिरिक्त समयमा जित निकाल्दै फाइनलसम्मको यात्रा तय गरेको हो । दुई टोलीबीच हालसम्म ९ खेल खेलिएकोमा इंग्ल्यान्डले ३ र स्पेनले २ खेल जितेका छन् । ४ खेल बराबरीमा टुङ्गिएका छन् । इंग्ल्यान्डले २०१७ र २०२२ को युरोमा स्पेनलाई हराईसकेको छ भने यस वर्ष नेसन्स लिगमा समेत इंग्लिस टोली विजयी भएको थियो ।
स्विट्जरल्यान्डको सेन्ट ज्याकोब पार्कमा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।