काठमाडौं । संसद्को शिक्षा समितिले शिक्षाबाहेकका संकायमा उच्चशिक्षा हासिल गरेकाले पनि सामुदायिक विद्यालयमा शिक्षक हुन पाउने सहमतिपछि त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय तरंगित बनेको छ । त्यसै त शिक्षाशास्त्र पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको बेला यो व्यवस्थाले शिक्षण संस्था नै बन्द हुने र विद्यालय शिक्षा झन् कमजोर हुने भन्दै शिक्षाशास्त्र संकायले कार्यक्रम नै पुनःसंरचना गर्नुपर्ने बेला आएको बताउन थालेका छन् ।
१० वर्षअघिसम्म काठमाडौंको महेन्द्र रत्न क्याम्पसमा १० हजार हाराहारी विद्यार्थी हुन्थे । शिक्षण पेशामा जान चाहने विद्यार्थीले पढ्ने शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर पढ्ने विद्यार्थी अचेल यो क्याम्पसमा २२ सय जति मात्रै छ । अझ संसद्को शिक्षा समितिले जुनसुकै संकायबाट उच्चशिक्षा हासिल गरेकाले पनि शिक्षक बन्न पाउने प्रावधान शिक्षा विधेयकमा गरेपछि शिक्षा विषय पढ्ने विद्यार्थी अझ घट्ने मात्र होइन, क्याम्पस नै बन्द गर्नुपर्ने अवस्था आउनेमा क्याम्पस चिन्तित छ ।
शिक्षाशास्त्र संकायमा कमसल खालका विद्यार्थी भर्ना हुने र सोही कारण शिक्षक सेवा आयोगले लिइने शिक्षकको खुला परीक्षादेखि लाइसेन्समा धेरै विद्यार्थी फेल हुने गरेको धेरैको बु्झाइ छ । अर्कातिर विज्ञान, गणित र अंग्रेजी जस्ता विषयमा विज्ञापन गर्दा समेत आवेदन नै नपर्ने अवस्था आएपछि संसद्को शिक्षा समितिले शिक्षा संकाय बाहेकले पनि शिक्षक बन्न पाउने व्यवस्थालाई खुकुलो बनाएको छ ।
शिक्षण पेशाका लागि विद्यार्थीको मनोविज्ञान बुझेर सिक्षण सिकाइसम्बन्धी ज्ञान र सीप हुनुपर्छ । अन्य संकायबाट उच्चशिक्षा हासिल गरेकासँग कन्टेन्ट त हुन्छ तर शिक्षण सिकाइसम्बन्धी ज्ञान नुहँदा झन् विद्यालय शिक्षामा समस्या आउने सक्नेतर्फ सचेत हुनुपर्ने विज्ञहरूको राय छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायले यसले विद्यालय शिक्षासँगै शिक्षण सिकाइमा समेत गम्भीर असर पर्न सक्नेतर्फ सरकार र सांसद सेचत हुनुपर्ने बताएको छ ।
त्रिवि शिक्षाशास्त्र संकाय अन्तर्गत २६ वटा आंगिक क्याम्पस र ५ भन्दा बढी सामुदायिक र निजी क्याम्पसहरूमा शिक्षाशास्त्रको पढाइ हुने गरेको छ । ती शिक्षण संस्थामा मुस्किलले ८० हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । शिक्षाशास्त्र संकायलाई जीवन दिन, विद्यार्थीलाई आकर्षित गर्न र मुलुकको लागि आवश्यक दक्ष जनशक्ति शिक्षक तयार गर्न पुनःसंरचना गर्नुपर्ने बेला आएको बताउन थालेका छन् ।
शिक्षाशास्त्र संकायको उद्देश्य भनेकै शैक्षिक जनशक्ति उत्पादन हो । शैक्षिक गुणस्तर बढाउन शिक्षाशास्त्रमा थप लगानी गर्दै विद्यार्थी आकर्षित गर्नुपर्नेमा झनै यसलाई खुम्च्याउने नीति बनाउँदा यसको असर कस्तो होला ?