गोरखा । गोरखाको धार्चे गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरू भएको करिब दुई वर्षमा सकिनुपर्ने हो । तर न त निर्माण सम्पन्न भएको छ न काम नै भएको छ। ठेकेदारले म्याद थप्ने तर काम नगर्दा ५ वर्षदेखि निर्माणाधीन भवन अलपत्र छ ।
गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा ठडिएको देखिन्छ एउटा अपूरो भवन । धार्चे गाउँपालिकाको यो प्रशासनिक भवन २०७९ माघ २९ सम्ममा सम्पन्न गर्ने गरी विकोई हेमन्त जेभी, चितवनसँग २०७८ वैशाख ५ मा सम्झौता भएको थियो ।
ठेकेदार म्याद थप्न पर्दा सम्पर्कमा आउने थपिए पछि सम्पर्कविहीन हुने गरेकोले भवन अलपत्रमा परेको हो । ५ करोड ३८ लाख लागतमा निर्माण गर्न लागेको उक्त भवनको केही पैसा मात्र ठेकेदारले लगेको छ । काम अलपत्र पारेर ठेकेदार नै गायब भइदिँदा भवन निर्माण थप अनिश्चित भएको हो ।
२०८१ वैशाख २९ मा सम्पन्न गर्ने गरी दोस्रोपटक थपिएको म्याद पनि गुज्रिए पछि अहिले तेस्रो पटक म्याद थपको प्रक्रिया अघि बढाएको छ । काम नगरेर भवन अलपत्र छाडेका ठेकेदारले कहिले हिउँ नपर्ने ठाँउमा हिउँ पर्दा काममा कठिनाई भएको भनेर झुठो कारण पेस गर्ने गरेको पाइएको छ ।
भवनको भौत्तिक प्रगति ५० प्रतिशत पनि भएको छैन । तीन तले भवनको अहिलेसम्म संरचना मात्र खडा भएको छ । भवनको रडहरूमा खिया र इट्टाहरूमा लेउ लागिसकेको छ । प्रयोगका लागि ल्याएका ५ सय बोरा सिमेन्ट कामै नलाग्ने भइसकेका छन ।
भवन निर्माणको ढिलाईबारे जानकारी लिन खोज्दा विकोई हेमन्त जेभीको प्रतिनिधिका दुवै नम्बरमा फोन उठेन । भवन नबन्दा धार्चे गाउँपालिकाले मासिक ६० हजार रूपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ ।