काठमाडौं । नेपाल एथलेटिक्स संघको निर्वाचन स्थगित गर्न माग गरिएको छ । संघका पदाधिकारीहरूले आइतबार पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रिया रोक्न माग गरेका हुन् ।
पदाधिकारीले यसै विषयमा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष ध्रुव आचार्यलाई पत्र समेत पठाइसकेका छन् । पत्रमा अहिलेका कार्यवाहक अध्यक्ष राजिवविक्रम शाहको संयोजकत्वमा रहेको नेपाल एथलेटिक्स संघको तदर्थ कमिटीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७८ अनुसार राखेपको निर्देशनबिनै स्वतन्त्र रूपमा निर्वाचन अघि बढाएको भनिएको छ ।
विधान स्वीकृत गरेर मात्रै निर्वाचन गराउन मिल्ने भए पनि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले एकलौटी ढंगले निर्वाचन अघि बढाएका पदाधिकारीको आरोप छ ।
२०८० साल जेठ ३० गते गठन भएको तदर्थ कमिटीका बहुमत सदस्यले निर्वाचन तयारीमाथि आपत्ति जनाउँदै संघले उच्च अदालत पाटनको पत्र बुझ्न समेत अस्वीकार गरेको बताएका छन् । अब उच्च अदालतको फैसला आएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने पदाधिकारीहरूको माग छ । संघका महासचिव धनवीर चौधरी, सदस्यहरू पीताम्बर तिमिल्सिना, सूर्यलाल भण्डारी, प्रभाकर पाण्डे लगायत १२ जनाले निर्वाचनलाई लिएर विरोध जनाएका हुन् ।