अन्डर- २० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा

श्रावण ११, २०८२ |खेल ब्युरो
अन्डर- २० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । भुटानको थिम्पुमा आयोजना हुने एएफसी अन्डर- २० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ- एन्फाले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।

छनोट प्रतियोगितामा सहभागी टोलीहरूलाई ८ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा आयोजना हुने छन् । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हालै बंगलादेशमा सम्पन्न साफ अन्डर-२० महिला च्याम्पियनसिप खेल्ने टिममा समावेश लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङतानलाई टिममा सामेल गरेका छन् ।

सिंगल राउन्ड रोबिन फर्म्याटको यस प्रतियोगिताका ८ समूह विजेताले २०२६ मा थाइल्यान्डमा हुने एएफसी अन्डर-२० महिला एसियन कपमा स्थान बनाउने छन् ।

साथै तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्नेछन् ।

नेपालले छनोटको पहिलो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशमा सम्पन्न साफ अन्डर-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली टोली छोटो समयमै अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा छ ।