नेपालगञ्जको भेरी अस्पतालमा रेन्टिरेबिज खोप अभाव, बिरामीलाई महङ्गोमा बाहिर किनेर सुई लगाउनुपर्ने बाध्यता

श्रावण ११, २०८२ |जे पाण्डे
नेपालगञ्जको भेरी अस्पतालमा रेन्टिरेबिज खोप अभाव, बिरामीलाई महङ्गोमा बाहिर किनेर सुई लगाउनुपर्ने बाध्यता

नेपालगञ्ज । पश्चिम नेपालकै ठूलो सरकारी भेरी अस्पतालमा कुकुरले टोकेपछि लगाउने रेबिजविरूद्धको भ्याक्सिन नहुँदा चरम अभाव छ । 

संघीय र प्रदेश दुवै तहका स्वास्थ्य मन्त्रालय र विभागलाई रेबिज भ्याक्सिन पठाइदिन आग्रह गर्दासमेत बेवास्ता गरेपछि रेबिजविरूद्धको खोप अर्थात् ए-आर-भी सेवा प्रभावित भएको अस्पतालले जनाएको छ । जसले गर्दा उपचारका लागि दैनिक अस्पताल पुग्ने बिरामी संकटमा पर्ने गरेका छन् ।

साढे तीन वर्षको छोरालाई कुकुरले टोकेपछि नि:शुल्क औषधि उपचार गर्न पाइने आशामा भेरी अस्पताल आइपुगेकी पार्वती जैसी स्वास्थ्यकर्मीले रेबिजको भ्याक्सिन नभएको जवाफ पाएपछि संकटमा पर्नुभयो ।

हरेक दिन कुकुरले टोकेका घाइते ल्याएर अस्पतालमा रेबिजविरूद्धको भ्याक्सिन खोज्न आउनेहरूको संख्या बढ्दै गएको छ । खचाखच देखिने भिडमा १० वर्षीय छोरा प्रभाषलाई ल्याएर आउनुभएका बर्दिया मधुवनका रामबहादुर कामी पनि हुनुहुन्थ्यो । उहाँलाई पनि चिकित्सकले भ्यासिक्न नभएको भन्दै बजारबाट खोजेर ल्याउन आग्रह गरे ।

भेरी अस्पतालमा दैनिक कुकुरले टोकेका १ सय जना घाइते रेबिजविरूद्धको भ्याक्सिन लगाउन आउने गर्छन् । तर नि:शुल्क पाइने भ्याक्सिन औषधि पसलबाट ९ सय रूपैयाँमा किनेर ल्याउनुपर्ने अवस्था छ । त्यो पनि कुनै दिन बजारमा पाइदैन । स्वास्थ्य मन्त्रालय र विभागलाई भ्यासिक्न पठाइदिन पत्राचार गरेपनि मन्त्रालय र विभागले समेत बेवास्ता गरेको अस्पतालले जनाएको छ ।

मन्त्रालय र विभागले अस्पताललाई भ्याक्सिन उपलब्ध नगराउँदा स्वास्थ्यकर्मी र घाइतेका अफन्तबीच चर्काचर्कीको हुने गरेको छ । यस्तो अवस्थामा भेरी अस्पतालमा कुकुरले टोकेको सुई लगाउन आउनेहरू संकटमा पर्ने गरेका छन ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।