मध्यपहाडी राजमार्गले सडकविहीन डबजोङबासीलाई दिएको ठूलो राहत

जेष्ठ २३, २०८२ |पोषनाथ अधिकारी
मध्यपहाडी राजमार्गले सडकविहीन डबजोङबासीलाई दिएको ठूलो राहत

धादिङ । संघीय राजधानी काठमाडौंसँग सीमा जोडिएको भएपनि पक्की सडक नहुँदा सामान्य दुखबिराममा समेत निकै कष्ट बेहोरेर काठमाडौं जानुपर्ने धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका नागरिकलाई मध्यपहाडी राजमार्गले खुशी दिएको छ । 

मध्यपहाडी राजमार्गको यो खण्ड कालोपत्रे भएसँगै गाउँपालिकाभित्रको पहिलो कालोपत्रे सडकसमेत बनेको छ । जसले नागरिकलाई सुविधा त भएको छ नै सिङ्गो गाउँपालिकामा विकासको आधार तयार भएको छ ।

सरकारको महत्वाकांक्षी योजना मध्यपहाडी राजमार्गअन्तर्गत धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको भर्‍याङभुरूङहुँदै कटुन्जेसम्म पर्ने १२ किलोमिटर सडक कालोपत्रे भएपछि गाउँपालिकामै पहिलो पक्की सडक बनेको छ । ९५ प्रतिशत काम सकिएको सडकले यसैसाता पूर्णता पाउनेछ ।

गाउँपालिकामा यसअघि पक्की सडक पुगेको थिएन । मध्यपहाडी सडकले गाउँपालिकालाई सदरमुकाम धादिङवेशी र नुवाकोटसँग जोडेको छ । राम्रो सडक नहुँदा त्यहाँका नागरिकलाई सामान्य अवस्थामा पनि सदरमुकाम या दुखबिमारमा राजधानी पुग्न कठिन थियो । तर अब मध्यपहाडी राजमार्ग कालोपत्रे भएपछि त्यहाँका नागरिकलाई धरै सहज भएको छ ।

उर्वर भूमि भएपनि पहिले आफ्ना लागि मात्रै खाद्यान्न, तरकारी र फलफूल उत्पादन गर्ने त्यहाँका नागरिक विस्तारै व्यावसायिक खेतीतर्फ लाग्नथालेका छन । राजमार्ग आसपासका किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजान सजिलो भएको छ । यसले गाउँको आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पूर्वमा चिवाभञ्ज्याङदेखि पश्चिममा झुलाघाटसम्म विस्तारित मध्यपहाडी राजमार्ग दुर्गम पहाडी गाउँहरूलाई समृद्धिको मूलधारमा ल्याउने अभियान बनेको छ । पक्की सडक सञ्जालमा जोडिएपछि गाउँपालिकाले आगामी वर्षदेखि गाउँपालिकाभित्रका अन्य सडकलाई पनि कालोपत्रे गर्ने योजना बनाएको छ ।

मध्यपहाडी राजमार्गको नेत्रावती डबजोङ क्षेत्रमा भएको कालोपत्रेको कामले त्यहाँका नागरिकले सुविधासम्पन्न सडक मात्र पाएका छैनन् गाउँपालिकामा विकासको ढोका समेत खुलेको अनुभुति गरेका छन ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।