जुम्ला । जुम्लाका किसानलाई अनुदानमा जैविक मल बाड्न सुरू भएको छ । लुकीछिपी हुने रासायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनलाई जोड दिन कृषि विकास कार्यालय जुम्लाले जैविक प्रांगारिक मल बाड्न थालेकाे हाे ।
जुम्लालाई २०६४ सालमा १४ औँ जिल्ला परिषद्बाट अर्गानिक जिल्ला घोषणा गरिएको छ । अन्नबालीमा हुने विषादीको प्रयोगलाई रोक्न तथा अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक मल वितरण गर्न थालिएको कृषि विकास कार्यालय जूम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयाे ।
सबै कागजात पुरा गरी प्रक्रियामा आएका किसान, कृषि फर्म, कृर्षक समुह तथा कृषि सहकारीकालाई ५० प्रतिशत अनुदानमा जैविक मल वितरण भइरहेकाे छ ।
कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई जैविक प्राङ्गारीक मल वितरण गर्न थालिएको हाे ।
जुम्लामा ३ सय ९६ बोरा जैविक मल आईपुगेको छ । प्रति किसानलाई ५० किलोदेखी ५ कि्वन्टल सम्म मल दिने योजना छ । प्रतिबोरा २५ सय रुपैया मुल्य परेपनि किसानले १२ सय ५० मै पाउने छन् । जैविक मल वितरण कार्यक्रमका लागि चालु आवमा आर्थिक वर्षमा ६ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ ।