काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाँले सरकारको तर्फबाट नै सम्मनित संसद् र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गर्नुभयो । उहाँले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणीसमेत गर्नुभयो ।
लोकतन्त्रको बिरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेसलाई विपी कोइरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरूद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गर्नुभयो ।
उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन उहाँले चेतावनी दिनुभयो । उहाँले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनीसमेत दिनुभयो ।