लन्डन । किताब यात्रा फाउन्डेशनले मंगलबार किताब जात्रा फेस्टिभल गरेको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण भएको हो ।
विसं २०७५ बाट सुरू भएको किताब जात्रा फेस्टिभल भारतमा चार र नेपालमा ६ पटक भइसकेको छ भने यूके दोस्राे संस्करण भएको आयोजकले जनाएका छन् ।
प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाली कला संस्कृति र साहित्यलाई डायष्पोरामा समेत प्रवर्द्धन गर्न फाउन्डेशनले निर्वाह गरेको भूमिका सरहानीय भएको बताउनुभयाे ।
वरिष्ठ सञ्चारकर्मी टिकाराम यात्री मोडरेटर रहेको पहिलो सेसनमा राजदूत घिमिरेले निजामति कर्मचारी छंदा सिंहदरबारमा थिचिएको अनुभूति हुने भएपनि राजदूत बनेपछि उन्मुक्त, स्वतन्त्र तर चुनौति भारी रहेको बताउनुभयाे ।
दूतावासको कन्सुलर सेवा चुस्त बनाउनुबाहेक आफू विशेष गरी इकोनोमी डिप्लोमेसीमा लागेको उहाँले बताउनुभयाे । राजदूत घिमिरेले एक प्रसंगमा बेलायतमा नेपाली संघ-संस्था धेरै खोल्नु भन्दा राम्रो बनाउन सुझाव दिनुभयाे ।
विशेष अतिथी लर्ड रेमी रेन्जरले डिजिटल युगमा सबै रमाइरहँदा आफ्नो कला संस्कृति, किताब पढ्ने बानी नबिर्सन आग्रह गर्नुभयाे । यस्ता महोत्सवले नयाँ पुस्तालाई पनि उर्जा मिल्ने जनाउँदै लर्ड रेन्जरले गोर्खा सैनिक रोल मोडल कम्युनिटी भएकाले आफूले सम्मान गर्ने बताउनुभयाे ।
विभिन्न व्यक्तित्वलाई अवार्ड प्रदान
सो अवसरमा किताब यात्रा फाउन्डेशनले बेलायतको समुदायमा रहेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका तथा योगदान दिएका व्यक्तिहरूलाई अवार्ड प्रदान गरेको छ ।
किताब जात्रा डायस्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई, किताब जात्रा डायस्पोरा लिटरेचर अवार्ड कृष्ण बजगाईं, किताब जात्रा डायस्पोरा जर्नालिज्म अवार्ड अनलाइन खबरका बेलायत संवाददाता नवीन पोखरेल, किताब जात्रा डायस्पोरा मिडिया अवार्ड कुशल श्रेष्ठ, किताब जात्रा डायस्पोरा अन्टरप्रिनरसीप अवार्ड (फिमेल) डा. रक्षा थापा, अन्टरप्रिनरसीप अवार्ड (मेल) छोङ् शेर्पा, र युथ आइकन व्यवसायी विकास नेपाललाई प्रदान गरिएको छ । राजदूत घिमिरे र सञ्चारकर्मी टिकाराम यात्रीले अवार्ड प्रदान गर्नुभयाे ।