काठमाडौं – अष्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजमा नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो ।
डार्विन स्थित क्यालिज एरिना पाल्मर स्टोनमा भएको पाँचौ खेलमा नियमित कप्तान रोहित पौडेलाई आराम दिइएको छ । आज नेपाली टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिएको हो। खराव सुरुवात गरेको नेपालका लागी ओपनर कुशल भुर्तेल एक रनमा आउट भए । भिम सार्की १७ र आरिफ शेख १२ रनमा बाहिरिए । कुशल मल्लले २९ रनको योगदान दिए । त्यसपछी नेपाली खेलाडीले विकेट रोकेर खेल्न सकेनन्। गुल्सन झा दुई र सोमपाल कामी शून्यमा आउट भए। २७ रन बनाएका दिपेन्द्रलाई क्यालुम स्टोले क्याचआउट गराएका थिए। अन्तिममा लोकेश बमले २४ र रुपेश सिंहले १६ र जोडेपछी नेपालले मध्यम लक्ष्य प्रस्तुत गर्न सकेको हो।
नेपालविरूद्ध मेलवर्नका फरगुस ओनिल र स्टोले समान दुईदुई विकेट लिएका थिए। त्यसैगरी लाछन ब्याङ्स र मिचेल आर्चको नाममा समान २-२ विकेट रह्यो।
हिजोको खेलबाट नेपालले आज रोहित सहित आसिफ शेख, सन्दीप लामिछाने करण केसी र रिजन ढकाललाई आरम दिएको थियो भने दिपेन्द्र सहित गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी र शहाब आलमलाई मौका दिइएको छ ।
चौथो खेलमा आएर हारको श्रृङखला तोडेको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । नेपाल सुरुवाती तीन खेलमा पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पार्दै जारी सिरिजमा पुनरागमन गरेको हो । यो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । प्रशिक्षक स्टुअर्ट लअ ले अल राउन्डर दिपेन्द्र सिंह ऐरीलाइ आराम दिएका थिए । ब्याटिङमा देखिएको कमजोरीमा नेपालले सुधार गर्यो । जवाफमा हरिकेन्स १ सय १४ रनमा अल आउट भयो । तीव्र गतिका बलर नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । मेलवर्नले भने आफ्नो अघिल्लो खेलमा पाकिस्तान शाहिन्स संग हार बेहोरेको थियो । उसको यो तीन खेलमा पहिलो हार हो । नेपालका लागि लगातार दोस्रो जित हात पार्ने हो भने उत्कृष्ट ब्याटिङ र फिल्डिङ गर्न आवश्यक छ । नेपालले बलिङमा भने संतोषजनक प्रदर्शन नै गरिरहेको छ । नेपालले टि ट्वान्टी विश्वकपको तयारीका लागि अष्ट्रेलिया भ्रमण गरेको हो ।