सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले आपत्ति जनाएको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सोमबार नगरपालिकाबाट केही योजनाका कागजात नियन्त्रणमा लिएको विषयमा समाचार लेखेपछि सिरहाका सञ्चारकर्मीहरूलाई लक्षित गर्दै उहाँले आफूविरूद्ध समाचार लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने र भारी दण्ड जरिवाना गराउने धम्की दिनुभएकाे थियाे ।
मेयर यादवको उक्त अभिव्यक्ति प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भएको महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले यो कार्य निन्दनीय, आपत्तिजनक र पूर्णतः अस्वीकार्य रहेको जनाएको छ ।
मेयर यादवको अभिव्यक्ति निन्दा गर्दै महासंघले उहाँलाई कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ । यस्तै, मधेश प्रदेश भरीमा प्रेस स्वतन्त्रतामाथिको आक्रमण घटना बढ्दै गएको भन्दै यो रवैया जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि महासंघले दिएको छ ।
सम्बन्धित समाचार