दुई महिनामै ५४ चलचित्रले लिए निर्माण अनुमति, समग्र लगानी ६८ करोडभन्दा बढी

५ करोड ४० लाख लागतको ‘तथास्तु’ सबैभन्दा महँगो
असार ७, २०८२ |प्रकाश बम
दुई महिनामै ५४ चलचित्रले लिए निर्माण अनुमति, समग्र लगानी ६८ करोडभन्दा बढी

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र उद्योग चलायमान देखिएको छ । यो वर्ष मात्रै दुई महिनामा ५४ वटा चलचित्रले निर्माण अनुमति लिइसकेका छन् भने अझ थुप्रै चलचित्र निर्माण अनुमति प्राप्त गर्ने प्रक्रियामा छन् । देश विदेशका थुप्रै महोत्सवहरूमा उल्लेख्य चर्चा र सराहना भइरहेको नेपाली चलचित्र उद्योगमा संख्यात्मक वृद्धि समेत देखिनुले समग्र उद्योगमै आशा र उत्साहको सञ्चार गरेको छ ।

चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार गत वैशाखमा १८ वटा चलचित्रले निर्माण अनुमति लिएका थिए । वैशाखको तुलनामा जेठ महिनामा यो संख्या दोब्बरले बढेर ३६ पुग्यो । अर्थात् यो वर्षको सुरुआती दुई महिनामा मात्र ५४ वटा चलचित्रले निर्माण अनुमति लिएका छन् । अघिल्लो वर्षको यही अवधिमा जम्मा २१ चलचित्रले निर्माण अनुमति लिएका थिए । नयाँ वर्षको भोलिपल्टै वैशाख २ गते नेशनल मिडिया प्रोडक्सनले ४५ लाखमा ‘प्रवासी जीवन’ बनाउने भन्दै निर्माण अनुमति लिएको थियो । र पछिल्लो पटक जेठ २९ गते घनश्याम लामिछानेको श्याम शुक्ला फिल्म प्रोडक्सन प्रालिले १ करोड २५ लाखको लागतमा ‘लुछाचुँडी’ निर्माण गर्ने अनुमति प्राप्त गरेको छ ।

यो वर्ष हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छीधुर्बे’देखि गत वर्षको ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता प्रतीक सुवेदीसम्मले चलचित्र निर्माण अनुमति लिनुभएको छ । यस्तै अभिनेत्रीद्वय नीता ढुंगाना र केकी अधिकारी तथा निर्देशक सुदर्शन थापाले दुई-दुई वटा चलचित्रको निर्माण अनुमति लिनुभएको छ ।

विकास बोर्डको तथ्यांक अनुसार अहिलेसम्म निर्माण अनुमति लिएकामध्ये ५ करोड ४० लाख लागतको अरुण स्याङ्तानको चलचित्र ‘तथास्तु’ सबैभन्दा बढी लगानी रहने चलचित्र हो । यसको लागत ५ करोड ४० लाख रहने भनिएको छ । यस्तै भुवन केसीको निर्देशनमा कलाकार अनमोल केसी र प्रिन्सी खतिवडा शीर्ष भूमिकामा रहने चलचित्र ‘बाटुलो जून’ सबैभन्दा कम बजेटको चलचित्र हो । यसको लागत जम्मा २५ लाख रहने भनिएको छ । समग्रमा अहिलेसम्म निर्माण अनुमति लिएका चलचित्रको लागत ६८ करोडभन्दा माथि पुगेको छ । यसले चलचित्र उद्योगलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

२०८१ सालमा १९३ चलचित्रले निर्माण अनुमति लिएकामा ६२ वटा चलचित्र प्रदर्शनमा आएका थिए । तीमध्ये १५ वटा चलचित्रले मात्र लगानी सुरक्षित गरे । विकास बोर्डको तथ्यांक अनुसार ती चलचित्रले समग्रमा करिब २ अर्बको व्यापार गरेका थिए । यो वर्ष पहिलो दुई महिनामै ५४ चलचित्रले निर्माण अनुमति लिइसकेको र अरू थुप्रै अनुमति लिने चरणमा रहेकाले चलचित्र प्रदर्शनको संख्या पनि यो वर्ष बढ्ने देखिन्छ । यद्यपि चलचित्रको संख्या थपिनुले मात्र अर्थ राख्दैन । अघिल्लो वर्ष प्रदर्शनमा आएका २५ प्रतिशतभन्दा कम चलचित्रले मात्र लगानी सुरक्षित गरेको पृष्ठभूमिमा यो वर्ष यो आकडा बढ्नु आवश्यक छ । नत्र नयाँ लगानीकर्ता हतोत्साही हुने चलचित्र पत्रकार एवं समीक्षक सामीप्यराज तिमल्सेना बताउनुहुन्छ ।

पछिल्लो पटक केही नेपाली चलचित्रले अत्यधिक दबदबा राखेका भारतीय चलचित्रलाई समेत मात दिने गरी व्यापार गरे । गत वर्षको व्यापारबाट पनि यो पुष्टि हुन्छ । तर विदेशका प्रतिष्ठित महोत्सवसम्म पुगेर उल्लेख्य सराहना भएका नेपाली चलचित्रहरू समेत घरेलु बजारमा निरीह देखिए । यसले लगानी सुरक्षित गर्ने हो भने गुणात्मक रूपमा फड्को मारिरहेको नेपाली चलचित्रले घरेलु दर्शकको मनोविज्ञानलाई समेत ख्याल गर्नु उत्तिकै आवश्यक रहेको औंल्याएको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।