भक्तपुर । मष्तिष्क पक्षघात भएकी भक्तपुर नगरपालिका-३ तेखापुखू निवासी प्रिता बल्लले खुट्टाले लेखेको पुस्तक विमोचन गरिएको छ । खुट्टाले माेबाइलमा टाइप गरी बल्लले लेखेको २४२ पृष्ठ लामो ‘अविचलित पाइला’ आज पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक समारोहका बीच लोकार्पण गर्नुभयो ।
पुस्तक लाेकार्पण कार्यक्रममा मन्त्री पाण्डेले प्रिताले शारीरिक अशक्तताका बावजुद पनि देशका विभिन्न धार्मिक पर्यटकीय क्षेत्रकाे भ्रमण गरेकाे कुराहरू पुस्तकमार्फत सार्वजनिक गर्नुभएकाे बताउनुभयो । प्रिता बल्लले पुस्तकमार्फत पर्यटन दूतकाे काम गरेकाे र विभिन्न नेवारी चाडपर्व र सांस्कृतिक पक्ष समेत पुस्तककाे माध्यमबाट सार्वजनिक गरेकाे भन्दै आभार व्यक्त गर्नुभयाे ।
मन्त्री पाण्डेले प्रितालाई पर्यटन मन्त्रालयमा महत्त्वपूर्ण जिमेवारी दिइने बाचा पनि गर्नुभयाे ।
पुस्तकको प्रकाशन संस्था अनुशीलन नेपाल हाे । पुस्तकमा ९३ वटा विभिन्न शीर्षकमा प्रिताले आफ्ना अनुभव लेख्नुभएकाे छ ।