उमाकुण्ड गाउँपालिकामा ५१ प्रतिशत धाराको पानी पिउन अयोग्य

जेष्ठ १२, २०८२ |नवराज श्रेष्ठ
उमाकुण्ड गाउँपालिकामा ५१ प्रतिशत धाराको पानी पिउन अयोग्य

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा ५१ प्रतिशतभन्दा बढी धाराको पानी पिउन अयोग्य रहेको पाइएको छ । गाउँपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, तथा विभिन्न संस्थाहरूले पानी खाइरहेका १५९ वटा मुहान तथा धाराको पानीको स्वच्छता जाँच गर्दा यस्तो पाइएको हो । 

१५९ वटा मुहान तथा धाराको पानीको स्वच्छता जाँच गर्दा ५१.५८ प्रतिशत अर्थात् ८२ वटा धाराको पानीमा फोहोर तथा दिसाजन्य जीवाणु भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले बताउनुभयो ।

धेरे मुहान तथा धाराको पानीमा पिउन अयोग्य जीवाणु कोलिफर्म (ई–कोली) भेटिएपछि गाउँपालिका अन्तर्गतका ७ वटै वासीहरूलाई उमालेर मात्रै पानी पिउन अनुरोध गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले खानेपानी धारा तथा मुहान वरिपरि पशु चौपाया नबाँध्न तथा चरण क्षेत्रको रूपमा प्रयोग नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिकामा रहेका सबै खानेपानी उपभोक्ता समिति तथा अन्य सरोकारवालाहरूसँग छलफल गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यो गाउँपालिकामा गत वर्ष पनि स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको १५ वटा धाराको खानेपानीको स्वच्छता जाँच गर्दा फोहोर तथा दिसा जीवाणु कोलिफर्म (ई–कोली) भेटिएको थियो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।


सम्बन्धित