जनकपुर । सरकारी घोषणाअनुसार नि:शुल्क औषधीसमेत उपलब्ध गराउन नसकेको मधेश प्रदेश सरकारले नागरिकको जीवनस्तर उकास्न रोजगार मूलक काममा लगानी गर्नुको साटो सौन्दर्यीयकरणजस्ता काममा लगानी गर्न होडबाजी गर्दै आएको छ ।
सरकारलाई सचेत गर्नुपर्ने भूमिकामा रहेको प्रदेश सभाले यस्तो कामलाई निरूत्साहित गर्नुको साटो आफै अनुत्पादक काममा करोडौं खर्चेर सरकारको सिको गरिरहेको छ ।
२०७५ साल पुसमा अस्तित्वमा आएको यो मधेश प्रदेश सभा हो । साबिकको शिक्षा तालिम केन्द्रलाई मर्मत सम्भार र रंगरोगन गरी त्यसमा प्रदेशसभा बसाइएको थियो । यस परिसरको घाँसे मैदानमा अब वाटर फाउन्टेन निर्माण गरिँदैछ । प्रदेशसभा सचिवालयले आर्थिक वर्षको अन्त्यमा ४२ लाख ७४ हजारको लागतमा पानीको फोहरा निर्माण गर्न लागेको हो ।
वाटर फाउन्टेन सँगै छुट्टा-छुट्टै दुई वटा प्रवेशद्वार बनाउन लागिएको छ । ४० लाख २० हजारको लागतमा मुख्य सडकमा पहिलो र यसको ठीक ३ सय मिटर भित्र प्रदेशसभा परिसर पस्न १८ लाख ५८ हजार भन्दा बढीको लागतमा दोस्रो प्रवेशद्वार निर्माण गरिँदैछ ।
त्यसैगरी १३ लाख ९३ हजारको लागतमा सुरक्षा पोष्ट, ३३ लाख लागतमा प्रतीक्षालय र २० लाख लागतमा कर्मचारीको आवास भवन निर्माण भइरहेको छ । मुख्य सडकदेखि प्रदेशसभा प्रवेशद्वार सम्म ४५ लाख खर्चेर तीन वर्ष अघि बनेको पीपीसी ढलान सडक माथि ६९ लाख रूपैयाँको लागतमा एकै दिनमा रातारात कालो पत्रे गरिएको छ । देखावटी काममा सरकारी कोषको लगानी गर्ने यो कार्यलाई प्रदेशसभा सदस्यले नै सरकारी रकमको दुरूपयोग भनेका छन् ।
साँघुरो ठाउँमा सञ्चालन हुँदै आएको संसदीयदलको कार्यालयहरूको अवस्था सुधार गर्नुको साटो आफ्नो स्वामित्वमै नरहेको जग्गामा रहेका संरचनाको साज सज्जामै करोडौं खर्च भइरहँदा प्रदेशसभा सचिवले यसलाई बजेटको सदुपयोग भन्नुहुन्छ ।
सुगमरहे पनि मधेश प्रदेश शिक्षा, स्वास्थ्य र रोजगारीमा अन्य प्रदेश भन्दा पछि छ । प्रदेशको कहाली लाग्दो गरीबी बिर्सेर आफ्नो स्वामित्वमै नरहेको जग्गामा प्रत्येक वर्ष सरकारी धनराशी खर्चिदै जानुलाई नागरिकप्रतिको बेमानी नै भन्नुपर्छ ।