दोलखा । दोलखामा हिउँदमा जाडो छल्न बेँसीतिर झारिएका चौँरी गोठ बर्खा लागेसँगै चरन खोज्दै फेरि खर्क जाने क्रम सुरू भएको छ ।
बर्खालागेसँगै गोठालाहरूले खर्कतिर चौँरी गोठ सर्ने गरेका हुन् । दोलखाको लप्ची क्षेत्रका गोठहरू भने चीनको तिब्बततिरका खर्कमा सार्ने गरिएको छ । स्थानीय कर्मावाइसर शेर्पाकाअनुसार लप्चीका याक र चौँरी चराउन गोठालाहरू सीमापारीका खर्कमा जानेक्रम सुरू भएको छ ।
असारमा माथिल्लो भेगका खर्कमा पुगेका गोठहरू असोज लागेपछि फेरि तलतिर झारिन्छ । कालिञ्चोकको टुटुवान क्षेत्रमा पनि चौँरी गोठ सार्ने क्रम सुरू भएको छ । यो चौँरीका प्रजनन याम पनि हो ।
जसका कारण माथिल्लो क्षेत्रका खर्कमा दूधका लागि पोषिलो घाँस हुने भएकाले गोठ सारिन्छ । दोलखाकै शैलुङ, जिरी, मार्वु विगुलगायतका चौँरीपालक किसानले बर्खामा खर्कमा गोठ लैजान थालेका छन् ।
असारदेखि असोजसम्म माथिल्लो क्षेत्रका गोठमा चौँरीको दूधबाट चिज छुर्पी बन्ने गरेको छ । चौँरीपालक किसानले वर्षभरिमा आम्दानी लिने मुख्य सिजन पनि यही हो । दोलखाबाट मात्रै वार्षिक ११ करोड भन्दा बढीको चिज छुर्पी बिक्री हुन्छ ।